• 11:17 am

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०१:१७

७ बैशाख २०७९, काठमाडौं : श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।


प्रहरीको गोली लागी अरु १४ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो श्रीलंकाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भाइरल भएको बताइएको छ ।


यता प्रहरीले भने प्रदर्शनकारीमाथि ‘न्यूनतम बल’ प्रयोग गरेको दाबी गरेको छ । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, अमेरिकी तथा युरोपेली राजदूतहरुले घटनाको निन्दा गरेको बीबीसीले जनाएको छ ।


सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग गर्दै प्रदर्शनलाई चर्काइरहेको बताइएको छ ।


बीबीसीका अनुसार यसमाथि सोमबार १७ नयाँ मन्त्रीहरूसहित मन्त्रिपरिषद् विस्तार गर्ने राजपाक्षेको कदमबाट पनि श्रीलंकालीहरु आक्रोशित बनेका छन् ।


मंगलबार श्रीलंकामा इन्धनको प्रमुख खुद्रा विक्रेताले इन्धनको मूल्य ६५ प्रतिशतसम्म वृद्धि गरेपछि पछिल्लो चरणको प्रदर्शन भएको जनाइएको छ ।

प्रतिकृया