• १ असोज २०८३, बिहीबार
  • ११ः४४ बिहान

दुई महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध सम्झौता

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०६:२१

२४ चैत्र २०७८, काठमाडौँ : महालक्ष्मी नगरपालिका, ललितपुर र महालक्ष्मी नगरपालिका, धनकुटाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यासहरू आदानप्रदान गर्ने जस्ता विषयवस्तुहरू सो समझदारी पत्रमा उल्लेख गरिएको छ ।

National Life

महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेको हो । त्यसैगरी, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, नगर उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनितिक दलका प्रतिनिधिहरू, यस नगरपालिकाका सामुदायिक विद्यालयका वि।व्य।स अध्यक्ष र प्रधानाध्यापकहरू, नगरपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार र दुवै नगरपालिकाका स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो ।


सोही कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गानको प्रस्तुति तथा सार्वजनिकी करण, महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धी पुस्तक विमोचन र महालक्ष्मी पत्रिकाको विमोचन गरिएको थियो । महालक्ष्मी नगर गान शुभारम्भ कार्यक्रममा उक्त नगरगानका रचनाकार ९ नं वडाका वडा अध्यक्ष वासुदेव गौतमसहित उक्त गानका संगितकार एवम् गायक टीका भण्डारी, रेकर्डिस्ट तथा संगित एरेञ्जर हरिशरण सायमी, गायक मुन्ना गुरुङ, दुर्गा परियार र जिना रसाइलीलाई सम्मान गरिएको थियो । साथै, दुबै नगरपालिकाको तर्फबाट मायाको चिनो आदानप्रदान समेत गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल र नगर उपप्रमुख मञ्जु अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले यस भगिनी सम्बन्ध सम्झौताले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतका विषयहरूमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख शिक्षा अधिकृत चिरञ्जिवी पौडेलले गरेको थियो र कार्यक्रमा मनोरञ्जन स्वरूप गायक मुन्ना गुरुङ र गायिका जिना रसाइलीले सांगितिक प्रस्तुति गरेका थिए ।

प्रतिकृया