माओवादी केन्द्रबाट निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश
प्रकाशित मिति
२०७८ चैत्र २२ गते, मंगलवार १०:५४
२२ चैत २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचन नजिकिएको समयमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् । माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको उपमेयर मण्डलले बताइन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् । कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार थिए । उनी कांग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसंग झिनो मतले पराजित भएका थिए ।
सो पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, एमाले धनुषाका ईन्चार्ज रामचन्द्र मण्डल, नेतृ प्रतीक्षा तिवारी, धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवलगायतको उपस्थिति रहेको थियो ।






प्रतिकृया