महालक्ष्मी न.पाको एकिकृत नगर सूचना प्रणाली र विद्युतीय घर-नक्सा पास प्रणालीको शुभारम्भ कार्यक्रम
प्रकाशित मिति
२०७८ चैत्र १४ गते, सोमबार ०९:४४
१४ चैत्र २०७८, काठमाडौँ : महालक्ष्मी नगरपालिका, ललितपुरद्वारा बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको आर्थिक सहयोग एवम् वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा सन् २०१९ देखि “नेपालमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी मापदण्डको नमूना कार्यान्वयन” परियोजना सञ्चालन हुँदै आएको छ ।
सोही परियोजना अन्तर्गत सरसफाइ लगायतका नगरपालिकाको अन्य तथ्याङ्क एवम् सूचनालाई सुदृढ र प्रभावकारी बनाउन एकिकृत नगर सूचना प्रणालीको निर्माण गरिएको छ । उक्त प्रणालीका साथै नगर क्षेत्रभित्र नव निर्माण गरिने भवनहरूको नक्सा पास प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी थप व्यवस्थित गर्न तयार गरिएको विद्युतीय घर नक्सा पास प्रणालीको २०७८ चैत १३ गतेका दिन नगर प्रमुख रामेश्वर श्रेष्ठले दुवै प्रणालीहरूमा पहिलो Login गर्दै शुभारम्भ गरेका छन् ।
उक्त शुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणा, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडा नं १, २, ३, ४, ६ र ९ का वडा अध्यक्ष र वडा सदस्यहरू, नगरपालिकाका सबै शाखा प्रमुखहरू, उक्त प्रणालीहरू विकास गर्ने इनोभेटिभ सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक डा. भूषणराज श्रेष्ठ, उक्त परियोजना अन्तर्गतका एन्फोका पदाधिकारी, कर्मचारी र विषयगत विज्ञहरूका साथै अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
IMIS र eBPS को शुभारम्भ गर्दै नगर प्रमुख रामेश्वर श्रेष्ठले सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिकाबाट प्रदान गरिने सेवालाई थप सरल, सहज र व्यवस्थित गर्ने नगरपालिकाको नीति अनुरूप उक्त प्रणालीहरूको विकास गरिएको बताए । उनले नगरपालिकाको सेवा प्रवाह र अभिलेखिकरणलाई सोही अनुरूपका प्रणालीहरूको विकास र प्रयोग गर्दै less paper बाट सुरू गरी Paperless सम्म पुर्याउने नगरपालिकाको लक्ष्य रहेको बताए । उक्त प्रणालीहरूको सञ्चालन पूर्व नगरपालिकाका कर्मचारीहरूलाई आवश्यक क्षमता विकास सम्बन्धी अभिमुखीकरण र तालिम समेत प्रदान गरिने जानकारी दिएका छन् ।








प्रतिकृया