रामेछापमा दलित बालिकालाई चोरीको आरोपमा यातना
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार १२:१०
२ चैत्र २०७८, काठमाडौँ : रामेछापमा दलित बालिकालाई बन्धक बनाएर यातना दिइएको छ । मन्थली नगरपालिका–६ मा १२ वर्षीया बालिकालाई दही चोरेको आरोपमा स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् । फागुन ३० दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर यातना दिएका हुन् । बन्धक बनाएर यातना दिने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी थिङले बताए । मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई मंगलबार दिउँसो उद्दार गरेर सदरमुकाममा ल्याएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए।
बन्धक बनाएको थाहा पाएपछि मन्थली–६ का अध्यक्ष गोपाल माझीले प्रहरीलाई खबर गरेका थिए । घरभित्र पसेर चोरी गरेको आरोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँधेर शरीर थाममा बाँधेको प्रहरीले जनाएको छ ।




प्रतिकृया