आजबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु
प्रकाशित मिति
२०७८ फाल्गुन २९ गते, आईतवार ११:२५

२९ फागुन २०७८, काठमाडौँ : आजाट नेपाली काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्दैछ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि आइतबारदेखि एकमहिने अभियान प्रारम्भ गरेको हो । सबै जिल्लामा एकै दिन, एकै समयमा आइतबार दिउँसो १ बजे एकसाथ जिल्लास्तरीयरूपमा अभियान शुभारम्भ हुनेछ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार चैत २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टीपङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालयले जनाएको छ ।
अभियानका क्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट सहमतिमा पारित गर्न सफलता प्राप्त गरेको विषय र त्यसबारेका भ्रम र दुष्प्रचारलाई चिर्दै वास्तविकरूपमा राख्ने काँग्रेस ले जनाएको छ ।
सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा महतले जानकारी दिए ।
प्रतिकृया