विद्यार्थी कुट्ने बेनीको शिक्षकले मागे लिखित माफी
प्रकाशित मिति
२०७८ फाल्गुन २३ गते, सोमबार ११:०४
२३ फागुन २०७८, काठमाडौं : विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफी मागेका छन् । विद्यालयले उपचार खर्च बेहोर्ने, शिक्षकलाई स्पष्टीकरण सोध्ने र शिक्षकले माफी माग्नेलगायत पाँचबुँदे सहमति हिजो आइतबार भएअनु्रुप उनले माफि मागेका हुन् ।
घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्वीकार गरेर गल्ती नदोहोराउने लिखित माफी मागेपछि विद्यार्थीका अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीबीच सहमतिमा हस्ताक्षर भएको छ। शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेपछि करङ भाँचिएर घाइते भएका पौडेलको उपचार भइरहेको छ । निमित्त प्रअ लेखबहादुर हमाल र राजनका बुबा भीमप्रसाद पौडेलबीचको हस्ताक्षर भएको सहमतिपत्रमा घाइते विद्यार्थीलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने उल्लेख छ ।

पौडेलको स्वास्थ्य सामान्य नहुँदासम्म उपचारको क्रममा भएको खर्च पेश गरेको बिल भर्पाइको आधारमा भुक्तानी र चोटका कारण भविष्यमा कुनै समस्या आएमा विद्यालयले उपचार गर्ने सहमति भएको छ ।

पढाउने क्रममा कागजको ढल्ला बनाएर हानेको जनाउँदै घिमिरेले पौडेलसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई कुटपिट गरेका थिए ।
नेपाल विद्यार्थी सङ्घले फागुन १५ गते र अनेरास्वयु क्रान्तिकारीले फागुन २२ गते विज्ञप्ति प्रकाशन गरेर शिक्षकलाई कारबाही गर्दै सुरक्षित भएर पढ्ने वातावरण बनाउन माग गरेका थिए । विद्यार्थी कुटेर घाइते बनाएको समाचार सार्वजनिक भएपछि शिक्षक घिमिरे, विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई दबाब परेको थियो ।
यही फागुन १३ गते लेखा विषय शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो ।




प्रतिकृया