पत्रकार इन्जिना कार्कीले मबाट १६ लाख बार्गेनिङ गरेर लिएकोहोः ज्ञानेन्द्र शर्मा
प्रकाशित मिति
२०७८ माघ २ गते, आईतवार ०५:३९
२ माघ २०७८, काठमाडौँ : व्यवसायी ज्ञानेन्द्र शर्माले आफ्नो बारेमा पत्रकार इन्जिना कार्कीले षड्यन्त्रपुर्वक कार्यहरु गरेको आरोप लगाएका छन् । शर्माले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि धाक धम्की र डर देखाएर २० लाख मागेको र १६ लाख दिन तयार भएपछि पटक – पटक गरी केही रकम दिंदा पनि धम्की दिन नछाडेको दाबी गरे ।
आफूलाई डरधम्की देखाएर ठगी गरेको प्रमाणित भएपछि आत्तिएर तथानाम आरोपहरु लगाएको बताए । शर्माले घटनाको सत्यतथ्य जानकारी दिन आज बिहान बसबाट नेपालगञ्जबाट काठमाडौं आएको सुनाए । उनले आफूले कुनै गलत कार्य नगरेकाले पत्रकारहरुसामु प्रस्तुत भएको बताए । शर्माले कार्की पुस २० गते जिल्ला अदालतको इजलासबाट १३ लाख ५४ हजार धरौटीमा निस्किएको भन्दै त्यसको प्रमाण आफूसँग भएको बताए । दुईजनाबिच गत वर्षको फागुनबाट सम्वाद सुरु भएको जानकारी दिए ।
उनले आफ्नो नेपालगञ्जमा गोर्खाटोबाको कम्पनी भएको र १०० जनालाई रोजगारी दिइरहेको बताए । गत फागुनमा आन्तरिक राजस्व कार्यालयमा अनुसन्धानमा फुल अडिटको लफडा भएको र त्यसको बारेमा कार्कीले कतैबाट सूचना पाएर आफूलाई सम्पर्क गरेको सुनाए ।
‘उहाँ कुनै पनि हालतमा सामान्य महिला होइन । उहाँको शैली क्षमता कुनै पनि हिसाबले सामान्य छैन, उहाँ निकै चतुर हुनुहुन्छ,’ शर्माले भने,‘मैले त उहाँको डरधम्की धेरै भोगेको छु । यसको प्रमाणहरु पनि पेश गर्न सक्छु ।’
कार्कीले आफूलाई फोन गरेर यस्तो समाचार आएको छ के हो सत्यतथ्य भनेपछि आफूले एक हप्तामा काठमाडौं आउछु अनि बताउँला भनेको स्मरण गराए । काठमाडौंमा आएर राजस्वको बारेमा के हो भनेर कार्कीले सोधेपछि आफुले अनुसन्धानको क्रममा रहेकोले बताउँन मिल्दैन भनेको स्मरण गराए ।
आफुले कार्कीलाई सत्य र सहि नबताएको आक्रोशित भएर भोलिपल्टै करोडौंको राजस्व छलि गरेको आफ्नो कम्पनी र आफ्नो नामको बारेमा समाचार केही पत्रिकामा आएको सुनाए । उनले भने, ‘समाचार आएपछि परिचय सोध्दा जी न्युजको पत्रकार हुँ मसँग नेपालका सबै राजनेता, पत्रकार, अख्तियार प्रमुख लगायत अब हुने सबैको नाम लिदै भारतीय रअ र भारतका केही नेताहरु राजनाथ शाह, अमित शाहको समेत नाम लिएर उहाँहरुसँग मेरो पहुँच छ भन्नुभयो ।’
शर्माले आफ्नो कम्पनीमा भारतबाट चामल, दाल ल्याएर विक्रि गर्दै आएको करोडौंको ट्रान्जजेक्सन, सबै कारखाना बन्द गराइदिने चेतावनी दिएपछि आफू डराएको सुनाए । उनले भने, ‘ती सबै व्यवसाय संचालन गर्ने हो भने हामीले भनेअनुसार काम गरे गर्नुस् मसँग एउटा टिम छ । नेपाल आज युट्युब च्यानल, सगरमाथा टेलिभिजन र न्युज २४ लगायतको पटक–पटक नाम लिनुभयो ।’
‘मैले यी च्यानललाई दिनुपर्छ होइन भने इन्डियाबाट मान्छे परिचालन गरेर व्यापार पनि बन्द गराइदिन्छु । यहाँ पनि अख्तियारमा पनि मेरो ठुलो मान्छे छ। सेनापति मेरो मान्छे हो, प्रहरी र नेता पनि मेरा मान्छे हुन् भनेर ठुलो डर त्रास देखाएपछि व्यापार चौपट होला भनेर म डराएँ,’ उनले भने ।
यी डर सुनिसकेपछि तपाईको मनसाय के हो ? भनी सोध्दा २० लाख रुपैयाँ कार्कीले मागेको जिकिर उनको दाबी थियो । १६ लाख रुपैयाँ सबै मिडियालाई दिनुपर्छ बाँकी मलाई पनि दिनुपर्छ भनेर थर्काएको शर्माले सुनाए । व्यापार डुबाउने डरले १६ लाख रुपैयाँ दिन आफू तयार भएको उनले बताए । एकैपटक दिन नसकिने भन्दै १६ लाखको चेक दिएको उनको भनाइ थियो । उनले १६ लाख चेकको पहिलो रकम भदौमा ८ लाख रुपैयाँ दिएको सुनाए ।
राति १० बजेपछि मात्र डेढ सय भन्दा बढी आफ्नो मोवाइलको वाट्स्अपमा मिस्कल भएको बताए । आफूले कहिल्यै पनि कल रिसिभ नगरेको उनको जिकिर गरे । आफुलाई अत्यधिक अमानविय व्यवहार गरेपछि जि न्युज मा बुझ्न गएको र उहाँले भनेको केही नभएको र खतरा नदेखेपछि आफु प्रहरीमा गुहार माग्न गएको बताए । उनले कार्कीले आरोप लगाएजस्तो कुनै सहकारी संस्था नभएको स्पष्ट पारे ।
मानसिक रुपमा दबाब भएको भन्दै आफूले हुयारसमेन्ट नगरेको बताए । शर्माले यदि कतै सानो भएपनि त्यस्तो भेटिएमा आफुलाई कारवाही गर्न समेत चुनौति दिए । कार्यक्रममा उनले कार्की र उनीबीच भएका कुराकानीका केही अडियो क्लिप पनि सुनाएका थिए । कार्कीको परिवारले सबै पैसा फिर्ता दिन्छौ यो मुद्दा फिर्ता लिन आग्रह गरेपनि समग्र न्यायको लागि आफुले मुद्दा फिर्ता नलिएको बताए । उनले भने, ‘५÷६ महिनापछि पनि मेरो माग पुरा होला भन्दै दिएको पैसा पनि फिर्ता नगरेको हुँ ।’
प्रतिकृया