• 5:11 pm

नेपाली नर्स लैजान बेलायतले मार्चसम्म सम्झौता गर्ने, ४९ हजार पाउण्ड न्यूनतम तलब

प्रकाशित मिति

२०७८ माघ १ गते, शनिबार ०२:१५

१ माघ २०७८, काठमाडौँ : बेलायत नेपाली नर्सलाई रोजगारी दिनका लागि तयार भएको छ। यसअघि बेलायतले नर्सलाई रोजगारी दिने भनिएको भएपनि औपचारिक निर्णय भने भएको थिएन । नर्स लैजाने विषयमा बेलायतले नेपालसँग आगामी मार्चसम्म श्रम सम्झौता गर्ने तय भएको छ ।


श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारीबीच शुक्रबार पहिलो पटक भएको वार्तामा बेलायतले नेपाली नर्स लैजाने र नेपालले नर्स पठाउने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट यस्तो सैद्धान्तिक सहमति जुटेको उहाँले बताउनुभयो ।


उहाँले नेपाली श्रमिक(नर्स) र बेलायतको श्रमिकबीच कुनै भेदभाव नगर्ने सहमति भएको जानकारी दिनुभयो । बेलायतको श्रमिकले पाउने न्यूनतम तलब र सुविधाअनुसारनै नेपाली श्रमिकले पनि पाउने उहाँले बताउनुभयो । बेलायतको नर्सको तलब मासिक न्यूनतम ४९ हजार पाउण्ड रहेछ, अब सहमति अनुसार नेपाली नर्सले पनि सोही सुविधा पाउनेछन्, घिमिरेले भन्नुभयो । ४९ हजार पाउण्ड भनेको नेपाली ७ लाख रुपि‌या बढी हुन आउँछ ।


नेपालले जति संख्यामा नर्स उपलव्ध गराउनसक्छ त्यतिनै नर्सलाई बेलायतले रोजगारीको अवसर दिने बताएको घिमिरेले जानकारी दिनुभयो । ‘हामीले जति नर्स दिनसक्छौ‌ त्यतिनै लिने भन्ने कुरा भएको छ, बेलायत सरकार आफैंले सम्पूर्ण खर्च व्यहोरेर नर्स लैजाने सहमति भएको छ,’ घिमिरेले भन्नुभयो ।


सहमति अनुसार सझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष छिटो टुङ्गोमा पुर्‍याइने छ । दुवै पक्ष समझदारीको मस्यौदामा जुट्ने छन् । यद्यपि, नेपाली नर्स लैजाने मोडालिटीको बारेमा भने टुङ्गो नलागेको उहाँले बताउनुभयो। नर्स लैजाने भन्ने विषयमा दुईदेश बीच पहिलो वार्ता भएकाले मोडालिटीबारे थप छलफल गरि टुंग्याइने प्रवक्ता घिमिरेले बताउनुभयो । अहिले नेपालमा ६७ हजारबढी नर्स नेपाल नर्सिङ परिषद्मा दर्ता छन् ।

प्रतिकृया