रोनाल्डोले गरे खेल करियरकै ८०१ गोल
प्रकाशित मिति
२०७८ मंसिर १७ गते, शुक्रबार ०८:२६
१७ मंसिर २०७८, काठमाडौं : क्रिष्ट्रियानो रोनाल्डो खेल जीवनमा ८०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति आर्सनलसँगको खेलमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि दुई गोल गरे ।
आर्सनललाई ३–२ ले पराजित गर्ने क्रममा रोनाल्डोले ५२ औँ मिनेटमा मार्कस राशफोर्डको सहयोगमा व्यक्तिगत पहिलो गोल गरे । सो गोल उनको खेल जीवनको ८०० औँ गोल बन्यो । यस्तै रोनाल्डोले ७० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे, सो गोल उनको ८०१ औँ गोल हो । ३६ वर्षका रोनाल्ले झण्डै दुई दशक पहिले स्पोर्टिङ सिपीका लागि पहिलो गोल गरेका थिए । रोनाल्डोले क्लब र राष्ट्रिय टिमका एक हजार ९५ खेलमा ८०१ गोल गरेका हुन् ।
रोनाल्डोले म्याचेस्टर युनाइटेडका लागि आफ्नो पहिलो बसाइमा २९२ खेलमा ११८ गोल गरेका थिए । अहिले उनले १६ खेलमा १२ गोल गरिसकेका छन् । यस्तै उनले स्पोर्टिङका लागि ३१ खेलमा पाँच तथा रियल मड्रिडका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् । युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि १८४ खेलमा ११५ गोल गरेका छन् ।








प्रतिकृया