जण्डिसको तह बढ्दा माओवादी नेता पुनको स्वास्थ्य गम्भीर , बैंककबाट चीन लगियो
प्रकाशित मिति
२०७८ मंसिर १० गते, शुक्रबार ११:५८

१० मंसिर २०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्य अवस्था गम्भिर भएको छ । जण्डिसको तह बढेको कारण उनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ । विगत डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको जण्डिसबाट पीडित छन् । बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार उनलाई चीन लगिएको हो । जण्डिससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिएका छन् ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् ।
जण्डिसले सताएपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब यो भन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।
कोरोनाको संक्रमणको त्रास र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका थिए ।
प्रतिकृया