सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्ने प्रचण्डको प्रतिवद्धता
प्रकाशित मिति
२०७८ मंसिर ५ गते, आईतवार ०३:१८
५ मंसिर २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले द्वन्द्वकालमा भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ उनले भनेका छन् ।
उनले शान्ति प्रक्रियाको मामिला सरकारको मात्र नभई राज्यकै हो भन्दै यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको पनि बताए । बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं’ उनले भनेका छन् ।
प्रचण्डले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट टुंगोमा पुर्याउने पनि बताएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयक परिमार्जन गर्ने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्ने प्रचण्डको भनाइ छ ।









प्रतिकृया