• १८ असोज २०८३, आइतबार
  • १२ः१४ दिउँसो

सञ्चयकर्तालाई ५० लाखसम्म सापटी

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ११:३५

४ मङ्सिर २०७८, काठमाडौं : कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिदका लागि सापटी प्रदान गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न यो सेवा सुरु गरेको हो ।

National Life

सरकारले बजेटमार्फत राष्ट्र सेवक कर्मचारीहरूलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । यो सापटीको सुविधा कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन् ।


जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमान र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० लाख रुपियाँ वा जग्गा खरिद÷बिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिनेछ । सापटी चुक्ता गर्ने अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दस वर्षको हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोषले यसअघि घर सापटी, घर मर्मत सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र पनि यो सापटी लिन सकिनेछ । सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् ।


जग्गा खरिद सापटीको धितोका लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौं उपत्यकाभित्र कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्नेछ । सञ्चयकर्ताले जग्गा खरिद सापटी लिन काठमाडौं उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यालयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ ।


कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरल चक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ । साथ औषधोपचार सुविधा, किरिया खर्च र शिशु तथा प्रसूति स्याहारजस्ता सामाजिक सुरक्षा सुविधासमेत प्रदान गर्दै आइरहेको छ ।


कोषले २०७८ कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २० हजार ३११ जनालाई ३७ अर्ब ७८ करोड रुपियाँ शैक्षिक सापटीतर्फ ६६१ जनालाई ५९ करोड रुपियाँ, घर मर्मत सापटीतर्फ एक हजार ७७९ जनालाई एक अर्ब ८७ करोड रुपियाँ र सरलचक्र कर्जातर्फ तीन हजार ३८५ जनालाई चार अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा ४५ अर्ब १७ करोड रुपियाँ लगानी गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिकृया