• २१ असोज २०८३, बुधबार
  • ५ः३५ बिहान

सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला आज

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०९:११

३ मंसिर, २०७८ डडेल्धुरा : सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला (देहीजाँत) आज शुक्रबार लाग्दैछ। बिहीबार राती (रतेडी) र आज दिउँसो (दिउसेडी) लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

National Life

कोरोना भाइरस संक्रमण जोखिमले गत वर्ष नित्यपूजामा सिमित देहीजाँत यस वर्ष भने पूर्णरुपमा हुँन लागेको हो। उग्रतारामा कार्तिक शुक्ल पूर्णिमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ।


रतेडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजन सुरु हुन्छ। सेलागाउ–जिलोडा , खनमडा, छचोडा, दुमडाका भ्राण बाट बाजागाजा समेत देउरो मेलाको दिन बिहानै पुग्ने र त्यस पछि जात्रा सुरु हुने प्रचलन छ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चार वटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चार वटै गाउँको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ।


उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तजन सँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ। मेलामा हराउँदै गएका अन्नवाली फाँपर, भिमुर, तिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यू, सुन्तला, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ।


किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ।


उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठको रुपमा परिचित छ। चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। मेलामा सहभागी हुन भारत लगाएत सुदुरपश्चिमसहित देशका बिभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गरेका छन् ।

प्रतिकृया