डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम
प्रकाशित मिति
२०७८ कार्तिक २६ गते, शुक्रबार १२:१३
२६ कार्तिक, २०७८ भक्तपुर : भक्तपुर सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालले पहिलो पटक अस्पताल अन्तर्गतका कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ । अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण कर्माचार्यले स्वागत मन्तव्य राख्दै अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
व्यवस्थापनका आधारहरुका विषयमा प्रस्तुतीकरण गर्दै उहाँले कर्मचारीहरु निरन्तर रुपमा प्रोत्साहित हुनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै अस्पतालका प्रवन्ध निर्देशक राजु मृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले अस्पतालमा आउने विरामीहरुको सेवा सुविधालाई अझ स्तरीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
प्रवन्ध निर्देशक जोशीले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा अस्पताल व्यवस्थापन सदैव तयार रहेको बताउनु भयो । कार्यक्रममा इवामुरा कलेज अफ हेल्थ साइन्सका नर्सिङ्ग डाइरेक्टर सानुमाया खडकाले अनुशासनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने अस्पतालका जनरल फिजिसियन डाक्टर महेश चौहानले विरामी व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी अस्पतालका प्रशासन प्रमुख मनिता बज्राचार्यले तनाव व्यवस्थापन र अस्पतालकै मेट्रोन सुरेसा धमलाले सञ्चार व्यवस्थापनका विषयमा कक्षा सञ्चालन गर्नु भएको थियो ।
सो अवसरमा अस्पतालका कर्मचारीद्वय रंजना गोसाई र रचना दुंगनालाई विदाई तथा सम्मान गरिएको थियो ।कार्यक्रममा अस्पतालका सम्पूर्ण विभागका इन्चार्ज तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।








प्रतिकृया