नोबेल शान्ति पुरस्कार जित्ने दुई ‘सामान्य’ पत्रकारको असामान्य कथा
प्रकाशित मिति
२०७८ आश्विन २२ गते, शुक्रबार ०५:४६
२२ असोज, २०७८ काठमाडौँ : स वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र डिमित्री आन्द्रेभिच मुरातोभलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले शुक्रबार गरेको छ। प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उनीहरुले गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ। ५८ वर्षीय रेसा फिलिपिनो अमेरिकी पत्रकार हुन् भने ६० वर्षीय मुरातोभ रुसी पत्रकार हुन्। उनीहरु ३२९ जना उम्मेरवारहरुबाट छानिएका हुन्।
को हुन मारिया रेसारु
५८ वर्षीया फिलिपिनो पत्रकार मारिया ‘र्याप्लर’ नामक अनलाइन न्युज पोर्टलकी सहसंस्थापक तथा सीइओ हुन्। फिलिपिन्समा नोवेल पुरस्कार पाउने उनी पहिलो विजेता हुन्। उनले आफ्नो जीवनको करिब दुई दशक सीएनएनका लागि दक्षिण पूर्वी एशियाका तर्फबाट एक प्रमुख अनुसन्धानात्मक रिपोर्टरका रूपमा काम गरेकी थिइन्।
मारिया ‘टाइम पर्सन अफ द इयर २०१८’ मा सामेल भएकी थिइन्। त्यसमा नक्कली समाचारसँग लड्न दुनियाभरबाट पत्रकारहरुको एक टिम सामेल गराइएको थियो। र्याप्लरले व्यापारी विल्फ्रेडो केन्गको बारेमा झुटो समाचार प्रकाशित गरेको आरोपमा सन २०१९ फेब्रुअरी १३ मा उनी साइबर कानुनअन्तर्गत पक्राउ समेत परेकी थिइन्।
मारिया ‘रिपोर्टर्स विदआउट बोर्डर्स’द्वारा शुरू गरिएको ‘सूचना तथा लोकतन्त्र आयोग’मा २५ अग्रणी व्यक्तित्व मध्ये एकमा परेकी थिइन्। रेसा सन १९६३ मा जन्मिँदा उनकी आमा जम्मा १८ वर्षकी थिइन्। यस्तै उनी एक वर्ष पुग्दा उनका बुवा बितेका थिए। त्यसपश्चात उनकी आमा बितिसकेका श्रीमानको परिवारसँग रेसालाई छोडेर अमेरिका उडेकी थिइन्। तर उनी बच्चाहरुलाई बारम्बार भेट्न भने आउने गर्थिन्। पछि, उनकी आमाले एक इटालियन–अमेरिकी नागरिकसँग विवाह गरिन्। र, फिलिपिन्स फर्किएर दुबै बच्चाहरुलाई संयुक्त राज्य अमेरिका पुर्याइन्। त्यतिबेला रेसा दश वर्षकी थिइन्।
को हुन् डिमित्री आन्द्रेभिच मुरातोभरु
६० वर्षिय मुरातोभ रुसी पत्रिका ‘नोभाया गजेता’का प्रमुख सम्पादक हुन्। उनले १९९५ देखि २०१७ सम्म यसको सम्पादन गरेका हुन्। २००७ मा उनले ‘इन्टरनेशनल प्रेश फ्रिडम अवार्ड’ जितेका थिए, ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट’बाट। उक्त अवार्ड आक्रमण, धम्की वा कारावासको सामना गरी प्रेस स्वतन्त्रताको रक्षा गर्न साहस देखाउने पत्रकारलाई दिने गरिन्छ।
मुरातोभ सन १९६१ अक्टुभर ३० मा क्युवाइसेबमा जन्मिएका हुन्। अहिले भने उक्त ठाउँलाई सामरा भनिन्छ। उनले लोमोनोसोभ मसकाउ युनिभर्सिटीबाट पाँच वर्ष भाषाशास्त्र अध्ययन गरे। तर उनलाई विस्तारै पत्रकारितामा लगाव बढ्दै गयो र कलेजमा रहँदा उनले स्थानीय समाचार पत्रिकाहरुसँग नेटवर्किङ गरे र काम गर्न सुरु गरेका थिए। सन १९८७ मा उनले भोल्जस्काइ पत्रिकामा संवाददाताको रूपमा काम गर्न थाले।








प्रतिकृया