• २१ असोज २०८३, बुधबार
  • ४ः०३ बिहान

दशैंमा मुस्ताङी स्याउ

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०१:२४

बागलुङरचाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी लगायतका साविकको धौलागिरी र आसपासका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किनेहरु हुन् वा देशविदेशमा रहेका, तर दशैंका बेला गाउँ फर्किनेहरु किन नहुन् । गाउँघरमा एउटै आशा हुन्छ कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।

National Life

दशैंको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको छ । असोज १ गतेदेखि बिक्रीका लागि खुल्ला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको हो । रातो र सेतो दुवै रंगको स्याउ बागलुङ, कुश्मा, बेनी लगायतका बजारमा आईपुगेको व्यसायीले बताए । धादिङका चन्द्र लामालाई यतीबेला बजारमा स्याउ पुर्‍याउन भ्याईनभ्याई छ । हरेक बर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पुर्‍याउने लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् । ५० लाखमा खरिद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पुर्‍याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ । मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उनले ठेक्कामा लिएका हुन् ।


‘दशैंपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दशैंका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ’ लामाले भने ‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको छु ।’ यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वको बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङ लगायतका शहरमा पठाउन भ्याईनभ्याई छ । बगैँचाबाट संकलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य ८० रुपैयाँदेखि १ सय २५ रुपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आर्कषित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ २ सयदेखि २ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेका छन् । २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीनरतीन वटा स्याउका बेर्ना बाँडेको थियो ।


मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा असोज १ गतेपछि मात्रै बगानमा प्रवेश दिइएको घरपझोङ गाउँपालिका २ मार्फाका किसान राजुप्रसाद लालचनले बताए ।


गतवर्ष ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्यांक छ । यसबर्ष गत बर्षको तुलनामा केही कम उत्पादन भएको एप्पल जोन’ कार्यक्रम मुस्ताङका प्रमुख सुधीरा थापाले बताए । मुस्ताङमा १ हजार ४ सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५ सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने थापाले बताए ।

प्रतिकृया