• 12:02 am

‘असल कम्युनिष्टबीच एकता आवश्यक’/ आफैले हत्या गरेको संसदमा बोल्न लाज लाग्दैन : वर्षमान पुन (भिडियोसहित)

प्रकाशित मिति

२०७८ भाद्र ६ गते, आईतवार १२:४८

pun e1629615767348

हामी हतियार समाएर मात्र होइन, बनाएर र पड्काएर आएका हौँ, हामीलाई हेपेर कसैले समाजमा वा राजनीतिमा जे पनि गर्न सकिन्छ भन्ने सोचे त्यो सह्य हुदैन

६ भाद्र, २०७८ भक्तपुर : पूर्वमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सांसदलाई प्रतिनिधि सभामा बस्न र बोल्न लाज हुनुपर्ने बताएका छन् । दुई पटकसम्म प्रतिनिधि सभाको हत्या गरेका निवर्तमान प्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पूर्वमन्त्री पुनले प्रश्न गरे, ‘तपाईहरुलाई संसदमा बस्न र बोल्न लाज लाग्दैन ?



शनिवार भक्तपुरमा आयोजित वाइसिएलको सूर्यविनायक नगर भेलालाई सम्बोधन गर्दै नेता पुनले निवर्तमान प्रधानमन्त्री ओली र उनका समर्थक सांसदलाई पदबाट राजिनामा दिएर नैतिकता देखाउन समेत सुझाव दिएका छन् । संसद बिघटन गरी आफैले आफूलाई मारेका एमाले सांसदले नयाँ निर्वाचनबाट निर्वाचित नहुँदा सम्म संसद सदस्य हुनु बेसर्मीको विषय भएको भन्दै पूर्वमन्त्री पुनले तुरुन्तै पद त्याग गर्न र तलव भत्ता नलिने घोषणा गरी राजनीतिक नैतिकता प्रदर्शन गर्न आग्रह गरे । भिडियो



‘हामीले ब्युत्याएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?‘ उनी कट्किए । दुई दुई पटक बिघटन गरेको संसद पुनर्स्थापना भएकोले आफूहरु यसको सदस्य नहुने निर्णय गरी बिघठनकारीहरुले राजनीतिक इमान्दारीता देखाउनुपर्ने उनको दावी छ ।


तर, एमाले अध्यक्ष ओलीबाट नैतिकताको आश गर्नु बेकार भएको उनले बताए । ‘आज राजनीतिमा अनैतिकता मात्र भएको र इमान्दारीताको कुनै सानो अंश पनि नभएको प्रवृत्ती केपी ओली प्रवृत्तीको रुपमा देखा परेको छ ।‘ उनले आरोप लगाए । उनलाई बा भन्दै उनको मूर्ती बोकेर हिड्नेहरु बिचार शुन्य व्यक्तिहरु पराजित बनेका र यो जित राजनीतिमा इमान्दारीता र बिचारको जित भएको उनले जिकिर गरे ।


लोकतन्त्रमा जनतामाथि कोही शासक नहुने भन्दै नेता पुनले जनताको मालिक बन्न खोज्दा ओली प्रवृत्ती पराजित बनेको र यसलाई राजनीतिमा पाठको रुपमा सबैले ग्रहण गर्नुपर्ने प्रष्ट पारे । सांसदहरु जनताका वारेश मात्र भएका भन्दै उनले त्यसलाई जे मन लाग्यो त्यही गर्न पाउने अर्थमा बुझ्नु नहुने बताए । ‘जनता सचेत छन् जनप्रतिनिधि राजा, रानी बन्न खोजे त्यो दुई दिन पनि टिक्दैन ।‘ उनले भने । सामन्ती सोच, व्यक्तिवादी चिन्तन, दम्भ र घमण्डले ७ प्रदेशमा छ वटा प्रदेशमा आफ्नो सरकार र संघमा दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका ओली अहिले प्रमुख प्रतिपक्षी नेता समेत नरहने स्थितिमा आइपुगेको उनले बताएका छन् ।


उक्त अवसरमा नेता पुनले परीवर्तन र अग्रगमनको नेतृत्व माओवादी केन्द्रले गरिरहेको जिकिर गर्दै पार्टीका नेताकार्यकर्ता सधै आन्दोलनमै रहनुपर्ने आवश्यकता समेत औल्याएका थिए । देशको मात्र नभई पार्टी भित्रका बिकृती विसंगती समेत हटाउनु पार्टीका इमान्दार नेताकार्यकर्ताको कर्तब्य भएको भन्दै उनले यसको अभिभारा युवाहरुले उठाउनुपर्नेमा जोड दिए । युवाको क्रान्तिकारी बिचार र जोशले मात्र पार्टी, समाज र देश समृद्ध बन्ने बताउदै उनले युवाहरु राजनीतिमा अगाडी आउनुपर्ने प्रष्ट पारे । देशैभर युवाहरुको आकर्षण माओवादी केन्द्रमा देखिएको दावी गर्दै उनले आगामी निर्वाचनमा पार्टीले पहिला स्थान प्राप्त गर्ने समेत घोषणा गरे ।


कार्यक्रममा माओवादी केन्द्र का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले भक्तपुरमा पार्टीका अध्यक्ष नै युवा रहेको बताउदै पार्टीमा युवाहरुलाई उचित जिम्मेवारी दिइने प्रतिवद्धता प्रकट गरेका थिए । उनले वाइसिएलले भ्रष्टाचार र दुराचारको भण्डाफोर गर्नुपर्ने भन्दै समाजले भरोषा गर्ने शक्तिको रुपमा कार्य गर्न मार्गनिर्देश समेत गरे ।


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सबै युवालाई वाइसिएल बनाउनुपर्ने धारणा व्यक्त गरे । बिचारले प्रशिक्षित नहुँदा युवाहरु मिसगाइड भएका हुनसक्ने भन्दै उनीहरुलाई सही बाटोमा ल्याउने काम वाइसिएलले गर्नुपर्नेमा उनले जोड दिए ।


वाइसिएल शारीरिक मात्र नभई बैचारिक तालिम युक्त भएकोले आफूहरु अरु पार्टीका युवा संगठन जस्तो उत्तेजित भै नहाल्ने जिकिर गर्दै अध्यक्ष दीपशिक्षाले वाइसिएललाई नजिस्काउन चेतावनी समेत दिए । ‘हामी हतियार समाएर मात्र होइन, बनाएर र पड्काएर आएका हौँ, हामीलाई हेपेर कसैले समाजमा वा राजनीतिमा जे पनि गर्न सकिन्छ भन्ने सोचे त्यो सह्य हुदैन ।‘ उनले भने ।


उक्त अवसरमा पार्टीका भक्तपुर जिल्ला अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी ओलीले ३ वर्ष शासन चलाउदा ४ खर्ब बेरुजु आएको महालेखाको प्रतिवेदन प्रति टिप्पणी गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचारलाई बढावा दिएको बताए । उनको कार्यकालमा एउटा पनि ठुला बिकासका आयोजना शुरु नभएको भन्दै उनले ओलीले गरेका बिकास र सम्बृद्धिका कुरालाई बकम्फुसे गफको संज्ञा दिए ।


उक्त अवसरमा बागमती प्रदेश सांसद प्रतिमा श्रेष्ठ, वाइसिएल नेताहरु कसम गुरुङ, दिनेश थपलिया आक्रोश, सविन आचार्य, नरेश वाइवा नरेश रंजित लगायतले समेत सम्बोधन गरेका थिए । वाइसिएलका सूर्यविनायक नगर अध्यक्ष सुरेन्द्र सुवालको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन भने वाइसिएल नेता सरराज उप्रेतीले गरेका थिए । कार्यक्रममा नगरपालिकाका १ सय बढी युवाहरु वाइसिएलमा प्रवेश गरेका थिए ।

प्रतिकृया