• ०५:४९ २०८१ बैशाख ७ गते
  • 5:49 am

अर्थमन्त्रीले भने- श्वेतपत्र कसैलाई आरोप लाउन होइन, नआत्तिनुस्

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार १२:१९

१२ साउन, २०७८ काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतंक सृजना भएको बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरुसहित अर्थविदहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको बताएका छन्।


‘श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ ’, शर्माले भने ‘यसैलाई लिएर बजारमा आतंक सृजना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु ।’


मन्त्री शर्माले पुँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावबमोजिम नै तालिका बनाएर अघि बढ्ने योजना रहेको जानकारी दिए। मन्त्री शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्राव्धानहरु बाधक रहको टिप्पणी गर्दै त्यसलाई समयानुकुल बनाउन प्रयत्न गर्ने बताएका छन् ।


उनले विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता समेत औंल्याए। जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले भने,‘जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन, त्यसैले जनपरिचालनको मोडालिटी बनाउन आवश्यक देखेको छु ।’


अन्तर्क्रियामा डा. विश्वम्भर प्याकुरेलले विकासका आयोजनामा वित्तीय लागत घटाउने गरी काम गर्न सुझाव दिए । उनले पुँजीगत खर्च नहुनु र विकासले गति लिन नसक्नुमा संरचनागत समस्या जिम्मेवार रहेको बताए । नवनियुक्त अर्थमन्त्रीहरुले श्वेतपत्र सार्वजनिक गर्ने चलन पुरानै रहेको भन्दै यसमा आपत्ति जनाउनु बेइमानी हुने बताए । उनले निजी क्षेत्रलाई राज्यले निरन्तर रुपमा सुविधा र सहुलियत दिएपनि रोजगारी सृजना र आर्थिक वृद्धिमा अपेक्षित योगदान गर्न नसकेको बताए ।


डा. खिमलाल देवकोटाले संघीयता कार्यान्वयनमा संघीय सरकारको चासो कम रहेको आरोप लगाउदै व्यूरोक्रेसीको संरचना परिवर्तन गरी प्रदेश र स्थानीय तहमा शक्ति विन्यास पर्नेमा जोड दिएका थिए । डा. हरि रोकाले कोभिडबाट प्रताडित जनताको लागि तत्काल राहत प्याकेज घोषणा गर्न सुझाव दिए। कार्यक्रममा डा. जनक शाह, चन्द्रमणि अधिकारी, गोविन्द नेपाल, केशव आचार्य, रामकुमार फुँयाल, चन्द्रकान्त पौडे, कुसुम शाक्य, मीन बहादुर श्रेष्ठ लगायतले आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिकृया