हत्या गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७८ श्रावण १२ गते, मंगलवार ११:३१
१२ साउन, २०७८ काठमाडौँ : धरान उपमहानगरपालिका -४ बस्ने २५ वर्षीय प्रदिप सुब्बाको हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१४ मण्डप टोल घर भएका सोही उपमहानगरपालिका-४ पत्राङबारी सिरान सालघारीस्थित आङ्बोहाङ एग्रीकल्चर एण्ड लाईभ स्टक फार्म प्रालिका संचालक ४४ वर्षीय मंगलसिंह लिम्बु, सोही उपमहागरपालिका-१४ पिण्डेश्वरी घर भएका सोही प्रालीमा काम गर्ने २० वर्षीय भरत भुजेल र सोही उपमहानगरपालिका-४ दानाबारी घर भएका ५४ वर्षीय जन्तरे भन्ने राम कुमार राई रहेका छन् ।
सोही उपमहानगरपालिका-४ दानाबारीको बैदाप खोपमा जेठ ५ गते सुब्बाको शव फेला परेको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँ चौताराबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल फेनारगन सहित सोही महानगरपालिका-२४ रामगढवा बस्ने २६ वर्षीय अफरोज मियाँ अन्सारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
काठमाडौँ , चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित पर्सा वीरगंज उपमहानगरपालिका-१५ बस्ने २९ वर्षीय साजिद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५७०३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१३ रोडशेषबाट नियन्त्रित लागूऔषध १० एम्पुल फेनारगन, १० एम्पुल लुपिजेसिक, १० एम्पुल डाइजेल्याव र १० एम्पुल एभिल सहित लेटाङ नगरपालिका-३ बस्ने २० वर्षीया अनु राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेकी उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
रुपन्देही, देवदह नगरपालिका-५ खैरेनी बजारबाट १ सय ५० सेट नियन्त्रित लागूऔषध नुफीन, फेनारगन र डाईजेपाम सहित नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-५ बस्ने ४० वर्षीय राजेस बानीया अग्रहरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.३३ प ४४३३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खैरेनी र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित पक्राउ
धनुषा, जनकपुर उपमहानगरपालिका-१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका-११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौं जान लागेका उनलाई उक्त एयरपोर्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ , बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ चैत ३० गतेको फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर कुपण्डोलबाट पक्राउ गरेको हो । गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।
छुरा प्रहारबाट १ जनाको मृत्यु
मोरङ, फुटबल खेल्ने निहुँमा छुरा प्रहार गर्दा उर्लाबारी नगरपालिका-८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने १९ वर्षीय निसान राई लगायतले फुटबल खेल्ने निहुमा चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय सुसन धामिलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारीमा हुँदै बी एण्ड सी बिर्तामोड पठाएकोमा चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते सुसनको सोही अस्पतालमा उपचार भइरहेको छ । निज निसान राई समेत २ जनालाई नियन्त्रणमा लिई घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सहकारी संस्थाको जीपमा आगजनी
बझाङ, जयपृथ्वी नगरपालिका-६ नौरास्थितमा पार्किङ गरी राखेको आनधरा सहकारी संस्थाको म.१ ज ७८३ नम्बरको जीपमा आइतबार राति आगजनी भएको छ । उक्त जीपमा अपरिचित ब्यक्तिले आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड देवलबाट खटिएको प्रहरीले आगजनीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धनुषा, हंसपुर नगरपालिका-९ बालगंगास्थित सडकमा प्रदेश ३-०२-००९ प।७८१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कमला नगरपालिका-३ पर्सा बस्ने ४० वर्षीय शंकर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
अर्घाखाँची, छत्रदेब गाउँपालिका-६ ठुलापोखरा बस्ने ४८ वर्षीया कमला रानाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा रहेको बिद्युतबाट चल्ने मकै पिस्ने जाँतो चिसो हातले चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेक छ ।
पोखरीमा डुबेर मृत्यु
सिरहा, धनगढिमाई नगरपालिका-१२ बस्ने कुशुमलाल मुखियाको छोरा ७ वर्षीय शिवम मुखियाको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा सार्वजनिक पोखरीमा डुबेर अशक्त भएका उनलाई तत्काल उद्दार गरी उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बर्दिया, बारबर्दिया नगरपालिका-१ लङगहवा बस्ने ३६ वर्षीय अंगानु थारु आफ्नै घरदेखि करिब ५० मिटर टाढा खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२ खानिखोलास्थित बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
सर्लाही, हरिवन नगरपालिका-४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खाँतुनको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको छ । सोही ठाउँ बस्ने आभाष रायको बिवाह घरमा जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको नमुना अस्पताल हरिवन हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया