• १३ असोज २०८३, मंगलबार
  • ११ः४८ राती

ट्राफिक नियन्त्रण तालिम संचालन

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०३:००

३ साउन, २०७८ काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम शुरु भएको छ । सोही महाशाखामा आइतबार आयोजित एक समारोहबीच सोही महाशाखाका प्रहरी उपरीक्षक संजिव शर्मा दासले तालिम उद्घाटन गर्दै ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तालिम उपयोगी हुने बताउनुभयो । ४५ कार्य दिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ५६ जना गरी ५८ जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

National Life

तास खेलिरहेको १८ जना पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका-२१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहादुर मगर लगायत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३० हजार ६ सय रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ बस्ने माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३८ हजार ४ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एकनाले भरुवा बन्दुक सहित पक्राउ
पाँचथर,
फिदिम नगरपालिका-९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, कैलाश गाउँपालिका-९ नामटारबाट ९ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-४ झ्याङ्ने बस्ने १५ र १४ वर्षीय किशोर रहेका छन् । पदैल हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने ३० वर्षीय प्रफुल राजवंशीलाई २ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ, १ थान डिजिटल काटा, नगद ५ हजार २ सय रुपैयाँ र ४ थान मोबाइल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर र शरीर तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-९ स्थित ज.३ प २७७८ नम्बरको मोटरसाइकलबाट १ हजार ५ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, चारमिनार मुम्कका २४ प्याकेट, राजनिवास ३ पैकेट र १ थान चक्कु सहित क्षिरेश्वरनाथ नगरपालिका-१० बस्ने २५ वर्षीय संतोष कुमार यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलको जाँच गर्दा सिट मुनी लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक यादवलाई पक्राउ गरेको हो । यसैगरी धनुषा, शहिदनगर नगरपालिका(३ यदुकुहा बस्ने जिवछ मण्डललाई २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद ६१ हजार ९ सय ९७ रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तलासी गर्दा बाक्समा लुकाई राखेको उक्त गाँजा र नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कपडा बरामद
झापा, भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ५ लाख रुपैयाँ बराबरको कपडा मेचीनगर नगरपालिका(६ बाट शनिबार राति प्रहरीले बरामद गरेको छ । भन्सार छलि ल्याउँदै गरेको उक्त कपडा ईलाका प्रहरी कार्यालय कांकडभिट्टाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु

चितवन, खैरहनी नगरपालिका-८ पर्सा चोकमा ना.८ ख ३०२४ नम्बरको ट्याङकरले ना.४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका-१० बस्ने २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीया सुवास चौधरीको सोही अस्पतालमा उपचार भइरेहको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, कुम्मायक गाउँपालिका-३ तमरकरिडोर सडकमा को.२८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा  मोटरसाइकलमा सवार तेह्थुम म्याङलुङ नगरपालिका.१ बस्ने ४५ वर्षीय याम बहादुर लिम्वुको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उदय कार्कीको जिल्ला अस्पतालमा उपचार भइरेहको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
सुनसरी,
ईटहरी उपमहानगरपालिका-१७ लाटिमाई टोल बस्ने ३५ वर्षीय मनोज खत्रीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट टिचिङ हस्पिटल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
सिरहा, लहान नगरपालिका-१९ छरापट्टी बस्ने मो।महेबुलको छोरा ६ वर्षीय मो।कुरसिद मियाँको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ । उक्त पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

चितवन, माडी नगरपालिका-१ चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । तनहुँ, ब्यास नगरपालिका(७ दुलेपानीस्थित मादी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पहिरोको कारण सडक अवरोध
उदयपुर, त्रियुगा नगरपालिका-७ सुर्केस्थित मदन भण्डारी स्मृति राजमार्गमा शनिबार साँझ वर्षातको कारण पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध टुसाल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-९ घर भएका हिरा राज श्रेष्ठको पार्किङ गरी राखेको प्रदेश ३-०२-०१४ प. ८१७० नम्बरको मोटरसाइकलमा प्लग सर्ट भई शनिबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

अर्घाखाँची, पाणेनी गाउँपालिका-१ बान्ट बस्ने अर्जुन बिकको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घरमा रहेको नगद १ लाख ५ हजार, अन्नपात, लत्ताकपडा, भँडाबर्तन समेत जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया