• 6:24 am

साउनभित्र ११ सचिवको पद रिक्त हुँदै, को को छन् नयाँ सचिवका दाबेदार ?

प्रकाशित मिति

२०७८ असार २१ गते, सोमबार ११:३१

काठमाडौँ : साउन महिनाभित्रै ११ सचिवको पद रिक्त हुँदैछ । नेपाल सरकारको विशिष्ठ श्रेणीको रुपमा रहने सो पदमा हाल रिक्त रहेका ४ र अब अवकाश हुने ७ समेत गरी सो संख्यामा सचिवहरु रिक्त हुने भएका हुन् । निजामति सेवा ऐनको व्यवस्था अनुसार सो स्थानमा सम्बन्धित सेवाका वरिष्ठ सह–सचिवहरु वढुवा हुनेछन् ।


अहिले प्रशासनतर्फका ४ सचिवको पद रिक्त छ । प्रशासन सेवाबाट सचिव बनेका चन्द्रमान श्रेष्ठले जेठको दोस्रो साता अवकाश पाएसँगै उनको ठाउँ रिक्त छ । त्यस्तै, असारमा अवकाश पाएका गोपीनाथ मैनाली, रेश्मीराज पाण्डे तथा डा. हरि पौडेलले स्थान पनि अहिलेसम्म रिक्त अवस्थामै छ ।


अब साउन महिनामा थप ७ सचिवको पद रिक्त हुँदैछ । यसमध्ये प्रशासन समूहका ४ जना र प्राविधिक तर्फका ३ जना छन् । सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनी, बाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द पौडेल र प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले साउनभित्रै अवकाश पाउन लागेका हुन् ।


त्यस्तै, इन्जिनियरिङतर्फ डा. सञ्जय शर्मा र माधव वेल्वासे पनि यही वर्ष अवकाश पाउँदैछन् । कृषि तथा बन समूहबाट सचिव रहेका योगेन्द्र कार्की पनि सोही समयभित्र अवकाश हुनेछ ।


यो वर्ष थप ३ जना सचिवको पनि अवकाश हुनेछ । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेको कार्यकाल आउँदो कात्तिकमा सकिँदैछ । त्यस्तै, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्र शर्माको कार्यकाकाल पुसमा सकिँदैछ । माघको तेस्रो साता अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाको कार्यकाल पनि सकिँदैछ ।


को–को छन् वढुवा सूचीमा ?

यो वर्ष रिक्त हुँदै गरेको पदका लागि वरिष्ठ सहसचिवहरु लाइनमा छन् । अहिले वरिष्ठ सहसचिवको पहिलो सूचीमा मधुसुदन बुर्लाकोटीको नाम पहिलो नम्बरमा छ । उनी हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् । कृष्णहरि पुष्करको नाम दोस्रो नम्बरमा छ ।


खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरि मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, रवीलाल पन्त, रामेश्वर दंगाल र मुकुन्द प्रसाद निरौला वरिष्ठताक्रममा रहेका सहसचिवहरु हुन्को । यो वर्ष सचिवमा बढुवामा उनीहरु दाबेदार हुन् ।

प्रतिकृया