निषेधाज्ञा उल्लंघन गर्ने ४८० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०७८ असार १८ गते, शुक्रबार ०२:२२
काठमाडौँ : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ७३ वटा गाडी र ३ सय ७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८१ जनालाई नि: शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ६ सय २७ जनालाई नि: शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८५ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार ५ सय ८७ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
पाटेबाघको छाला सहित २ जना पक्राउ
बाँके, बैजनाथ गाउँपालिका-४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम मेललेख गाउँपालिका-३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र अछाम रामरोसन गाउँपालिका-५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ स्थायी वतन भएका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशस् १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
पहिरोमा पुरिएर मृत्यु
काठमाडौं, तनहुँ, बन्दिपुर गाउँपालिका-३ तामुङ बस्ने ७० वर्षीया हरिमाया नेपाली र सोही ठाउँ बस्ने लिल बहादुर थापा मगरको घर पहिरो आई बिहीबार बिहान पुरिँदा हरिमाया र सोही ठाउँ बस्ने ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने ३५ वर्षीय सुभास थापा लगायत ३ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दमौलीतर्फ पठाएको छ । सिन्धुली, कमलामाई नगरपालिका-८ पहिरेस्थित बम्जन आश्रमको कम्पाउण्डभित्र रहेको घर बिहीबार बिहान आएको पहिरोले पुरिँदा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई हाल आश्रममा बस्ने ६९ वर्षीय लरिन बहादुर हिम्दुङको मृत्यु भएको छ । तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।
सवारी दुर्घटनामा परी मृत्यु
काठमाडौं, दैलेख, दुल्लु नगरपालिका-९ भजने पोखरीस्थित सडकमा क.प्र. ०२-००१ त ०१२४ नम्बरको ट्याकटरबाट लडेर ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २३ वर्षीय सुजन पुरीको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेका उनलाई सोही ट्याकटरले किच्दा घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । अछाम, बान्निगढी जयगढ गाउँपालिका-४ तिमिल्सैनस्थित सडकमा सु.प.प्र. ०१-००२ त ४४१२ नम्बरको ट्याक्टर सडकबाट करिब ३५ मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सह-चालक सोही ठाउँ बस्ने २४ वर्षीय एकेन्द्र बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय पूर्ण बहादुर ठकुल्लाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, झापा, कन्काई नगरपालिका-१ दुर्गापुर डेरा गरी बस्ने बुधबारे घर भएका ५२ वर्षीय बिनोद राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ, शुक्ला गण्डकी नगरपालिका-८ बाहुनकुनास्थित खेतमा सोही नगरपालिका शिवटोल बस्ने ५७ वर्षीय भोज बहादुर बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित कमला खोला किनारामा सोही नगरपालिका-५ बस्ने ८७ वर्षीय सन्त बहादुर बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पहिरोका कारण सडक अवरोध
काठमाडौं, ललितपुर, वाग्मती गाउँपालिका-२ पाङ्दुरडोलस्थित कान्तिलोक पथ र सोही गाउँपालिका-१ देखि ६ सम्मका विभिन्न स्थानहरू (लुकुने बेशी, प्युटार, घुसेल, माल्टा, भालुखोला, देबिस्थान) जाने सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका-८ गंगटेमा बिहीबार बिहान आएको पहिरोले कान्तिलोकपथ पूर्णरुपमा अवरोध भएको छ । पहिरोले सडक अवरोध भएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।







प्रतिकृया