जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७८ जेष्ठ २१ गते, शुक्रबार ०२:०३
काठमाडौँ : एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका बस्ने सौतेला बुबा नाता पर्ने ३२ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
मोरङ, २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुढीगंगा गाउँपालिका-२ बस्ने २४ वर्षीया सरोज कुमार साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई साहले पटक-पटक यौन दुर्व्यवहार गरी कुटपिट समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध गाँजा बरामद
मोरङ, बिराटनगर महानगरपालिका-१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा २ जनाको मृत्यु
मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित सडकमा प्र।३-०१-०२२ च २१३९ नम्बरको कारको ठक्करबाट भारत कटियार घर भएको ३५ वर्षीय मुकेश शर्माको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राम कुमार राजबंशीलाई उपचारको लागि नोवेल अस्पताल पठाइएको छ ।
हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । लमजुङ, राईनास नगरपालिका-८ भैसे खोलास्थित सडकमा ग।१ त ५६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-४ सातबिसे बस्ने ६० वर्षीय राम बहादुर कुमालको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय एक बहादुर कुमाललाई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
नुवाकोट, बिदुर नगरपालिका-३ बुनीबेशीस्थित त्रिशुली नदीमा डुबेर बेलकोटगढी नगरपालिका-१३ बस्ने २० वर्षीय युकेश तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ हजार ५ सय मिटर टाढा सोही नदीको किनारामा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ धौले बस्ने ४० वर्षीया राममाया तामाङ सोही ठाउँ धुसेनीचौरस्थित गोठमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाको अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । म्याग्दी, बेनी नगरपालिका(१ आनन्दबगरस्थित कालीगण्डकीको किनारमा रघुगंगा नगरपालिका-३ चमेरेस्थित निर्माणधिन मेची हाईड्रोपावरमा काम गर्ने भारत घर भएका अजितेज भनिने करिब २५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीमा परी दम्पतीको जलेर मृत्यु
संखुवासभा, मादी नगरपालिका-५ च्याङरिङ बस्ने ४६ वर्षीय राजेन्द्र बाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी दाहालको आगलागीमा परी जलेर बिहीबार राति मृत्यु भएको छ । दाजु गायत्री दाहालको घरमा बाबुको क्रिया बसेका दुवै जना राति घर बाहिर निस्किएकोमा फर्किनआएपछि खोजी गर्ने क्रममा उनीहरुको घरमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । साथै उनीहरुको खोजी गर्ने क्रममा आगलागीबाट जलेर मृत्यु भएको अवस्थामा कमलाको शव फेला परेको हो भने जलेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका राजेन्द्रको उद्दार गरी लगिएकोमा मादी नगरपालिका-४ मादी पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको कारण हाल खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया