स्वास्थ्य मन्त्रालयको अनुमान: असारसम्म ३ लाख जनामा कोरोना संक्रमण, ६० हजारलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ
प्रकाशित मिति
२०७८ बैशाख ९ गते, बिहीबार ०५:४४
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखापर्न सक्ने अनुमान गरेको छ।
मन्त्रालयले कोभिड–१९ को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखापरेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो।बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन्। उनका अनुसार तीन लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष आईसियु आवश्यक पर्ने अनुमान छ। सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए।

उनले भने, ‘असारसम्ममा करिब मोडरेट सिनारियोमा पनि हामीसँग तीन लाखको इन्फेक्सन आउँछ भन्नेछ। तीन लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ। हस्पिटलभित्र आउनुपर्ने ६० हजार बिरामीमध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०र१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर आइसियु चाहिने अवस्था देखिन्छ। त्यो हिसाबले हामी तयारी गर्नुपर्छ। यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरु चलाएका छौँ। केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेका छौँ, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौँ। यो बीचमा हामी करिब ५ सय जति आइसियु बेडहरु थप्यौँ, करिब ४ सय जति भेन्टिलेटरहरु थप गरेका छौँ। त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौँ।’

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौँका अस्पतालमा आएका कोरोना संक्रमित विरामीहरुको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए। उनले भने, ‘पछिल्लो हामीले दुई तीनवटा हस्पिटलहरुको टेकु हस्पिटल, पाटन हस्पिटललाई हेर्दाखेरी विरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरु जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिनभित्र विरामीहरु मरिरहेको अवस्था देखिन्छ। यति छिटो संक्रमण बढिराखेको छ।’
गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको छ। जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए।
सचिव अर्यालले कुल जनसंख्याको ७६ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि बताए। त्यस अनुसार २ करोड १५ लाख मानिसहरुलाई खोप लगाउँदा ४ करोड ३० लाख र खेर जाने दरसहित करिब ५ करोड खोप आवश्यक पर्ने बताए। सबै खोप खरिदका लागि करिब ४८ अर्ब लगानी गर्नुपर्ने देखिएको उनले बताए।
यस्तै देशभर रहेको १४ हजार खोप केन्द्रबाट दैनिक ६ लाख मानिसहरुलाई खोप लगाउन सक्ने क्षमता रहेको पनि सचिव अर्यालले बताए।




प्रतिकृया