संघीय संसदको सदस्य पद मुक्त बादललाई गृहमन्त्री:साँझ ५ बजे शपथग्रहण
प्रकाशित मिति
२०७८ बैशाख ५ गते, आईतवार १२:३७
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन्।
नेकपा माओवादी केन्द्रले बादललाई पद मुक्त गर्न मागसहित दर्ता गरेको पत्रका आधारमा आइतबारदेखि लागु हुने गरि उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको छ। संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ। सो व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गरेका हुन्।
बादलले आइतबार साँझ पाँच बजे राष्ट्रपति निवासमा गृहमन्त्रीका रुपमा शपथग्रहण गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले उनलाई आजै गृहमन्त्रीको सपथ गराउने भएका छन् । विशेष स्रोतका अनुसार बादल उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाइने प्रधानमन्त्रीको ओलीको इच्छा रहेको जनाएकोे छ ।
बदलले माओवादी केन्द्र छाडी ओलीलाई साथ दिएका थिए । राजनीतिक दलसम्बन्धी नियमावली अनुसार दल त्याग गरेमा सम्बन्धित दलले निर्णय गरेर सांसद पद खारेज गराउन सक्छ । बादल मन्त्री बनाइएमा ६ महिनामात्र पदमा रहन पाउनेछन् । सांसद नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने प्रावधान छ ।
बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए। त्यसपछि माओवादी र एमाले एकता भएर नेकपा बनेको थियो। तर सर्वोच्चको आदेशले एकता खारेज भएपछि बादल पुरानो पार्टी माओवादीमा नफर्की एमालेमा लागेका हुन्।
माओवादी केन्द्रले एमालेमै बसेका कारण बादललाई कारवाही गरेको थियो र सांसदबाट पद मुक्त गर्न माग पत्र सचिवालयमा दर्ता गरेको थियो।






प्रतिकृया