• २८ भदौ २०८३, आइतबार
  • ३ः५५ राती

३ सय ३८ जनालाई सगरमाथा आरोहणको अनुमति

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार १२:२५

काठमाडौँ : विभिन्न देशका कुल ३३८ जनालाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति दिइएको पर्यटन बोर्डले जनाएको छ ।

National Life

वसन्त ऋतुको आरोहण सिजनका लागि हालसम्म  ८ हजार ८४८.८६ मिटर उचाईको सगरमाथा आरोहणका लागि गएको शुक्रबारसम्ममा ३६ टिमका २६६ पुरुष र ८४ महिला गरि कुल ३३८ जनालाई आरोहण अनुमति प्रदान भएको हो।

सन् २०१९ मा सगरमाथा आरोहणका लागि विभागले ३८१ जनालाई अनुमति दिएको थियो । यो वर्ष आरोहण अनुमति लिनेको संख्या ३५० भन्दा बढि अनुमान रहेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताएकी छन् । आरोहण अनुमतिका लागि लिइने शूल्क बापत हालसम्म सगरमाथाबाट मात्रै ४० करोड ५० लाख ९७ हजार भन्दा धेरै राजश्व संकलन भएको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गएको चैत १३ गते विभागले यो वर्षका लागि पहिलो आरोण अनुमति जारी गरेको थियो। यो वर्षको वसन्त ऋतु सिजनमा पहिलो आरोहण अनुमति पाउनेमा बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १६ सदस्यीय टोली थियो।

सन् २०१९ यता पहिलोपटक हिमाल आरोहणको अनुमति यो वर्ष जारी भएको हो। गएको वर्ष कोरोना भाइरस महामारीका कारण आरोहण हुन सकेको थिएन । यो पटक आरोहण गर्नेहरुले उचाई थपिएको सगरमाथा चढ्ने छन् । गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो। त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।

यो वर्षको वसन्त ऋतु सिजनका लागि सगरमाथापछि हालसम्म सबैभन्दा धेरै लोत्से हिमाल आरोहणका लागि ११ टिमले अनुमति लिएका छन्। ८ हजार ५१६ मिटर उचाईको लोत्से हिमाल आरोहणका लागि ८१ पुरुष र २३ महिला गरि कुल १०४ जनाले अनुमति लिएका छन्। त्यसबाट दुई करोड १९ लाख तीन हजार रुपैयाँ भन्दा बढि राजश्व संकलन भएको छ ।

यसैगरि अन्नपूर्ण पहिलो र धौलागिरि पहिलोका लागि समान चार–चार टोलीले अनमुति लिएका छन् । गएको शुक्रबारसम्म सगरमाथासहित १६ हिमाल आरोहणका लागि कुल ७१ टोलीका ४९३ पुरुष र १४५ महिला गरि कुल ६२६ जनाले अनुमति लिएका छन् । त्यसबाट कुल ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।
(फाइल तस्बिर)

प्रतिकृया