• १० असोज २०८३, शनिबार
  • ९ः०२ राती

चरिकोट-जिरी सडक कालोपत्रे

प्रकाशित मिति

२०७७ चैत्र ३१ गते, मंगलवार १०:४८

भिमेश्वर : नेपालको स्वीजरल्यान्ड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डका २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

National Life

चरिकोटबाट १७ किलोमिटर तामाकोशी बजार र त्यसपछि नाम्दु बजारसम्म पाँच किलोमिटर गरी २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । कम्पनीका अनुसार चरिकोट-जिरी सडकखण्डअन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको जनाएको छ । अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

लामाका अनुसार केही महिनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्ट्रक्शन कम्पनी लिमिटेडले संयुक्तरुपमा ठेक्का पाएको थियो ।

हाल सडक खन्ने, चौडा बनाउन, ग्याबीन पर्खाल र नाला बनाउने काम तीव्ररूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्ट्रक्शन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए । गाह्रो र अप्ठ्यारो स्थानमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राबेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उनको भनाइ छ । “यसै रफ्तारमा काम भएमा समयमा नै काम सक्नेमा कुनै शङ्का छैन, हामी ढुक्क छौँ”, श्रेष्ठले भने ।

कुनै स्थानमा भिर काट्नुपर्ने र सानो सडकलाई चौडा गर्नुपर्ने निकै कठिन तथा भिरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगामी वर्ष यो काम सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ ।

मुडेबाट चरिकोट र चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्र भइसकेको पछि चरिकोट–तामाकोशी हँुदै जिरीसम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भई कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, जिरी बजार, च्छ्योरोल्पा हिमतालजस्ता धार्मिक तथा सांस्कृतिक महत्वको स्थानमा पुग्न सहज हुनेछ ।

लामोसाँघु–जिरी सडक स्वीस सरकारले विसं २०३१ देखि खाडीचौरबाट खन्न शुरु गरेको थियो भने विसं २०३४ मा एकतर्फी मोटर सञ्चालन हुने गरी कालोपत्र भएको स्थानीवासी बताउँछन् ।
(रासस)

प्रतिकृया