आजबाट सिमरा रंगशालामा गोल्डकप
प्रकाशित मिति
२०७७ चैत्र ३१ गते, मंगलवार १०:५७
काठमाडौँ: बाराको सिमरा- रंगशालामा मंगलबार सुरु हुने जीतपुर-सिमरा गोल्डकप फुटबलको ११ औं संस्करणमा आयोजक नवजनजागृति युवा क्लब सिमरा र मकवानपुरको वाग्मती गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका छन् ।
एक विदेशी टिमसहित १२ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमै आयोजक नवजनजागृति र वागमतीबीच कडा प्रतिस्पर्धा हुने आयोजकको दाबी छ ।
विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजन र जीतपुर-सिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा हुने प्रतियोगिताका सबै खेल फ्लडलाइटमा हुनेछन् । उपमहानगरकै सहयोगमा यसै वर्ष रंगशालामा फ्लडलाइट जडान गरिएको हो ।
आकर्षक पुरस्कार र ‘ए’ डिभिजनका क्लबहरू सहभागी हुँदै आएकाले यो गोल्डकपले प्रसिद्धि कमाएको छ ।प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी गराएका छन् ।
प्रतियोगितामा हिमालयन शेर्पा, त्रिभुवन आर्मी फुटबल क्लब, वीरगन्ज युनाइटेड, संकटा क्लब, भरतपुर फुटबल क्लब, एपीएफ क्लब, हेटौंडाको विजय युथ क्लब, सुदूरपश्चिम ११ धनगढी, सर्लाहीको वाग्मती युवा क्लब र अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनको सहभागिता रहेको आयोजकले जनाएको छ ।
विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्टले १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।सिमरा गोल्डकप मोफसलकै लोकप्रिय स्पर्धा मानिन्छ ।।







प्रतिकृया