• 9:05 pm

अमेरिका र चीनबिच औपचारिक वार्तामा गम्भीर आरोप–प्रत्यारोप

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०८:३१

अमेरिका र चीनका उच्च अधिकारीबिच भएको वार्तामा उनीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबिच वार्ता भएको हो ।

अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् । चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाए । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगायो ।
अमेरिका र चीनबिचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा छ ।

 

 

अलास्कामा भएको वार्तामा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए । यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहे ।

 

 

वार्ता तनावपूर्ण भएको खबर आइरहेका बेला अमेरिकी अधिकारीले बन्द कोठामा भएको झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् ।

गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए ।

जवाफमा चिनियाँ प्रतिनिधि याङ्गले अमेरिकाले आफ्नो सैन्य तथा आर्थिक शक्ति अरु देशहरुलाई दबाउन प्रयोग गरेको आरोप लगाए । अमेरिकामा मानवअधिकारको अवस्था अति नै न्यून अवस्थामा रहेको र अश्वेतमाथि निकृष्ठ व्यवहार भएको उनले आरोप लगाए ।

त्यसपछि राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले अमेरिका कहिल्यै पनि चीनसँग तनावको अवस्था सिर्जना होस् भन्ने पक्षमा नरहेको तर आफ्ना नागरिक र साथीहरुका लागि भने अडिग भएर लाग्ने बताए ।

सञ्चारमाध्यमकै सामुन्ने एक घण्टा भन्दा बढि अमेरिका र चीनका अधिकारीबिच आरोप–प्रत्यारोप भएको हो । त्यसपछि बन्द कोठामा भएको वार्ता सकारात्मक रहेको दाबी गरिएको छ ।

अमेरिका र चीनका अधिकारीबिच गएको जुन यता पहिलोपटक उच्च तहको वार्ता भएको हो ।

डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र चीनबिचको सम्बन्ध सबैभन्दा खराब अवस्थामा पुगेको हो । बाइडेन प्रशासन सम्बन्ध सुधारका लागि प्रयासरत रहे पनि अवस्था थप नाजुक बन्ने सम्भावना छ ।

एजेन्सी

प्रतिकृया