• १३ असोज २०८३, मंगलबार
  • ३ः५२ दिउँसो

करोडौं खर्च गर्दापनि बागलुङ कुश्मा सडक साँघुरै

प्रकाशित मिति

२०७७ चैत्र ५ गते, बिहीबार ०२:२७

बागलुङ: चार वर्षदेखि निर्माणाधिन पोखरा बागलुङ राजमार्गको कुश्मा बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचिकृत छ ।

National Life

करोडौं खर्चेर पनि यो सडक फराकिलो भएन । चौडा पार्ने भनेपनि सडक पुरानै मापदण्डमा कालोपत्रे तयारी गरिएको छ । कालोपत्रे पनि सामान्य प्रकारको छ ।
चारवर्ष लगाएर बनाएको सडक पनि उत्तिकै कमजोर र साँघुरो भएको स्थानीयले टिप्पणी गरे । ‘राज्यको करोडौं रकम निकै खर्च गरियो, अहिले पनि बाटोको अवस्था उस्तै छ’ बागलुङ नगरपालिका वडा नं। ८ का अध्यक्ष गणेशबहादुर थापाले भने, ‘काम गर्दा गर्दै भत्कने गरी कालोपत्रे गर्ने र चौडाको नाउँमा साँघुरै बनाएर के गर्न खोजिएको हो रु’ राजमार्ग भएकोले सडकको मध्यभागबाट २५ मीटर दायाँबायाँ छाड्नुपर्ने प्रावधान छ ।

स्थानीय नगरपालिकाहरुले पनि उक्त मापदण्डभित्र घरटहरा बनाउन दिएका छैनन् । तर सडक भने साँघुरै भएको हो ।पर्वतको कुश्मा बजारमा मात्रै डेढ किमी सडक चार लेनको बनाउने तयारी छ । अन्यत्र भने दुई लेनको सडक बनाउने योजना रहेको लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्वल शर्माले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरादेखि बागलुङको निसीसम्मको झण्डै २ सय किमी सडक चक्लाउने, कालोपत्रे गर्ने र मर्मतको काम पर्वतको आयोजना कार्यालयले गरिरहेको छ । ‘तत्कालका लागि पुरानो ७ मीटरको बाटोलाई १० मीटर चौडा बनाएर कालोपत्रे गर्ने गरी काम भएको हो’ शर्माले भने, ‘कालोपत्रे भने ८ मीटरको मात्रै हुन्छ ।’
आयोजनाले गरेको डिजाईनकै आधारमा काम भएकोले मापदण्ड घटाउने काम भएको छैन । भीर परेको स्थानमा भने दायाँबायाँ चक्ल्याउन नमिलेको उनले बताए ।

चालु वर्षभित्रै कुश्मा बागलुङ खण्ड कालोपत्रे भैसक्ने उनले बताए । बागलुङ बजारदेखि घोडाबाँधे तर्फको २५ किमी सडक भने चालु वर्ष सकिने भनेपनि संभावना कम देखिन थालेको सरोकारवालाले बताए ।

‘काम गरेको त देखिन्छ, तर पुरा गर्ने उद्देश्य राखेजस्तो देखिएन’ काठेखोला गाउँपालिका वडा नं। ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले भने, ‘अझै सामुहिक दबाव आवस्यक छ ।’ यसअघिका प्रजिअ सुरेश न्यौपानेले उक्त खण्डका ठेकेदार बोलाएर जेठ मसान्तभित्र काम सक्न निर्देशन दिएका थिए । ठेकेदारले पनि काम सक्ने आश्वासन दिएपनि चुस्त नगरेको भेटिएको हो ।

पर्वततर्फ घुम्ती, अर्मादी, नयाँपुल र सहश्रधारामा पुरानै नालीको जगमा निर्माण गरिएकोले सडक साँघुरो भएको टिप्पणी भएको हो । ‘पश्चिमतर्फ सडक खुलेकोले अहिलेको तुलनामा चाप अझै बढ्छ, तर सडक उस्तै भयो’ कुश्मा नगरपालिका–२ का शिवप्रसाद सुवेदीले भने, ‘काम गरेपनि अपुरो गरेको देखियो ।’ साँघुरो सडक भएकोले निर्माण सम्पन्न नहुँदै दैनिक घण्टौ सवारी जाम हुने गरेको उनले बताए ।
मध्यपहाडी लोकमार्गको अधिकांस ट्रयाक खुलेकोले सुर्खेतदेखि पोखरासम्मका सवारीले यो बाटो प्रयोग गर्दा सडक झन अस्तव्यस्त हुने यातायात व्यवसायीले पनि बताए । ‘विकल्प नदिई काम भएकोले जाममा परिरहेका छौं’ व्यवसायी खेमबहादुर जिसीले भने, ‘सोचेजस्तो सहज सडक बनेन् ।’

राजमार्गकै छेउमा निर्माणाधिन घरटहरा भने नीतिगत अस्पष्टताले बनाउन रोकिएका छैनन् । ‘राजमार्गको मापदण्ड २५ मीटर भन्ने त छ, तर नयाँ घोषित राजमार्गको लागि कानून बनेको छैन’ एक इन्जिनियरले भने, ‘स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिंदा राम्रो हुन्थ्यो ।’ यसरी निर्माण भएका घरटहराले नक्सापास भने गरेका छैनन् । कतिपय घरको नक्सा पास नभएपछि मापदण्ड मिचेर बनेको टिप्पणी शुरु भएको छ ।

प्रतिकृया