• २२ भदौ २०८३, सोमबार
  • १०ः२५ राती

गाँजा सेवन गरी बालक हत्या गर्ने तीनजना पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०४:३४

वीरगञ्ज: बाराको जितपुर–सिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुही टोलका १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले १४ वर्षीय बालक शाहिद मंसुरीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

National Life

पक्राउ पर्नेमा जितपुर–सिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मियाँ अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी वडा नम्बर १० बेहरा टोलस्थित खाल्टोमा पुरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

घरबाट बेपता भएका बालक मंसुरीको शव गत फागुन २८ गते फेला परेको थियो। १७ दिनपछि फेला परेको बालकको शव सडिसकेको अवस्थामा थियो।

शव फेला परपछि प्रहरीले कुकुरको सहयोगमा हत्याको अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका तीनै जनाले हत्या गरेको भनेर स्वीकारसमेत गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

रिसइबीका कारण बालकको हत्या 

पक्राउ परेका तीनै जनाले पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुले आपसी रिसइवी, झगडा एवं आर्थिक लाभका कारण हत्या गरेको प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रवक्ता मिश्रका अनुसार तीनै जना अभियुक्तहरु लागुपदार्थ सेवनकर्ता रहेको र उनीहरुले एक दिनअघि नै बालकको हत्या योजना बनाएका थिए।

पक्राउ परेका कियामुद्दिन मंसुरीले आफ्नो घरमा रहेको घरेलु हतियार ९दाप० घटनास्थल नजिकै नालामा लगेर तीन घन्टा अगाडि नै लुकाएका थिए।

पक्राउ परेका अभियुक्तमध्ये अफसान भन्ने अमर हुसेन मियाँ हजामले गाँजा खान जाउँ भनि बालकलाई साथमा लिएर गएका थिए।आबेदिन र कियामुद्दिन मंसुरी घटनास्थलमा पहिलेदेखि नै रहेका थिए। त्यसपछि कयामुद्दिनले पछाडिबाट बालकको घाँटीमा डोरीले कसेर लडाएपछि आबेदिन र अफसानले बालकको घाँटी थिचेका थिए।

बालकको मृत्यु भए नभएको यकिन गर्नको लागि दापले आबेदिनले खुट्टा, कम्मर र ढाडमा दापले प्रहार गरेका थिए। तीनै जनाले बालकलाई खाल्टोमा लगेर पुरेको मिश्रले बताए।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी मिश्रले बताए।

प्रतिकृया