जलवायु परिवर्तनसँग जुध्नका लागि नवप्रवर्द्धन परियोजनाको खाँचो
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार १२:२१
काठमाडौँ : नेपालसहित दक्षिण एशियाली मुलुकहरुमा जलवायु परिवर्तनको समस्या तीव्ररुपमा बढ्दै सन्दर्भमा ती चुनौतीहरुसँग जुध्न सामूहिक प्रयासबाट नवप्रवर्द्धनका परियोजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
एशियाली विपद पूर्वतयारी केन्द्र एडिपिसी द्वारा आयोजित दक्षिण एशियामा जलवायु अनुकूलन र उत्थानशीलताका लागि नवप्रवर्द्धनसम्बन्धी गोष्ठीका सहभागी वक्ताहरुले यस्ता परियोजनाहरु सञ्चालन गर्दा स्थानीय, राष्ट्रिय र क्षेत्रीयस्तरमा गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा एडिपिसीका उपकार्यकारी निर्देशक आस्लाम पर्वेजले विश्व बैंकको सहयोगमा नमूनाको रुपमा नेपाल, बङ्गलादेश र पाकिस्तानमा जलवायु अनुकूलन र उत्थानशीलतासम्बन्धी पाँच वर्षे नमूना परियोजना कार्यान्वयनमा ल्याइएको र ती मुलुकबाट विभिन्न सात क्षेत्रमा नवप्रवर्तनका कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए । उनले जलवायु अनुकूलन र उत्थानशीलताका क्षेत्रमा नेपालका अनुभव दक्षिण एशियाकै लागि उपयोगी हुने बताए ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपालका सबै स्थानीय तह र निजी क्षेत्रको क्षमता विकास गरी नवप्रवर्द्धनका परियोजनाहरु कार्यान्वयन गर्न आवश्यक रहेको बताए । एडिपिसी जलवायु अनुकूलन तथा उत्थानशीलता परियोजनाका प्रमुख पूर्णचन्द्रलाल राजभण्डारी र विश्व बैंक नेपालका विशेषज्ञ अभानीमणि दीक्षितले नयाँ परियोजनाहरुको कार्यान्वयनबाट जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा नवप्रवर्द्धनका परियोजनाहरु तर्जुमा गर्दा नै स्थानीय स्तरमा विभिन्न जाति, समुदाय, क्षेत्रहरुमा अभ्यासमा रहेका अनुकूलनसम्बन्धी ज्ञान, सीप र अनुभवहरुलाई प्रवर्द्धन गर्नुपर्ने, महिला, पिछडिएका समुदायको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने जस्ता सुझावहरु प्रस्तत गरिएको थियो ।
परियोजना कार्यान्वयनपछि राष्ट्रियस्तरमा जलवायु जोखिमसम्बन्धी योजना निर्माण तथा क्षेत्रीयस्तरमा जलवायु सूचनाको पहुँचमा सुधार एवं उत्थानशील निर्देशिकाको तर्जुमा र क्षेत्रीयस्तरमा जलवायु क्षेत्रगत लगानीमा वृद्धि एवं संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । – रासस






प्रतिकृया