• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

संघद्वारा नयाँ श्रम सचिवलाई विभागदेखि दूतावाससम्मका समस्या अवगत

प्रकाशित मिति

२०७७ फाल्गुन १८ गते, मंगलवार ०७:५९

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नवनियुक्त सचिव सुर्य प्रसाद गौतमलाई वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याहरुबारे अवगत गराई तत्काल समाधानका लागि आग्रह गरेको छ । संघका अध्यक्ष विष्णु प्रसाद गैरेको नेतृत्वमा सोमबार संघ कार्यसमितिका पदाधिकारी एवं सदस्य तथा सल्लाहकारसहितको टोलीले नवनियुक्त सचिव गौतमलाई मन्त्रालयमा नै भेंट्दै व्यवसायीले झेलिरहेका प्रमुख समस्याहरुका बारे जानकारी दिई समाधानका लागि आग्रह गरेको हो ।

शिक्षा मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुभव भएका सचिव गौतम श्रम रोजगार तथा वैदेशिक रोजगार क्षेत्रमा नयाँ प्रशासक हुन् । भेटमा व्यवसायीका तर्फबाट अध्यक्ष गैरेले तत्काल समाधान हुनुपर्ने मुख्य–मुख्य समस्याहरुबारे ध्यानाकर्षण गराएका थिए ।

Kamana Sewa

संघले मुख्यरुपमा वैदेशिक रोजगार ऐन २०६४ तथा नियमावली संशोधनसहित ईजाजतपत्र नवीकरणका लागि वार्षिक सय जना कामदार अनिवार्यरुपमा वैदेशिक रोजगारमा पठाउनु पर्ने वाध्यताले सिर्जना गरेको समस्या, लामो समयदेखि थाती रहेको सेवा शुल्क परिमार्जनको विषय, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस को व्यवहारिक समस्या र साउदी अरबस्थित नेपाली दूतावासमा प्रमाणीकरण भएर अनलाइन प्रणालीमा अपलोड भई नेपाल आउन नसकेका करिब ५० हजार कामदारको डिमाण्ड रहेका २४ सय फाइलको समस्या समाधान गर्नुपर्ने र मन्त्रालयले गठन गरेका कार्यदलले सकेसम्म छिटो प्रतिवेदन दिनुपर्ने माग राखेको महासचिव सुजित कुमार श्रेष्ठले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

Classic Tech Desktop

तीन वर्षअघि जारी भएको वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ मा नेपाली कामदारका लागि आउने मागपत्र नेपाली दूतावासले प्रमाणीकरण गरी दश कार्यदिन भित्र अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने व्यवस्था गरेको छ । साउदी अरबस्थित नेपाली दूतावासले कोभिडको समयमा प्रमाणीकरण गरेका फाइल अनलाइन प्रणालीमार्फत पठाएको छैन ।

प्रमाणीकरण भइसकेका फाइल अनलाइनमा अपलोड भएर नेपाल नआउँदा कामदार जान पाएका छैनन् । त्यसले रोजगारदाताहरु चिढाएको भन्दै व्यवसायीहरुले नेपाल आउने डिमाण्ड डाईभर्ट भई बंगलादेशलगायतका देशमा जाने खतरा रहेको बताउँदै आएका छन् । सोमबारको भेटमा त्यस विषयमा सचिव गौतमको गम्भीररुपमा ध्यानाकर्षण गराएको अध्यक्ष गैरेले बताए ।

मन्त्रालयले पहल गरे समस्या समाधान सहज रहेको भन्दै महासचिव श्रेष्ठले विगतमा प्रमाणीकरण भएका डिमाण्ड व्यवसायीहरुले विद्युतीय हस्ताक्षर गरी विभागको प्रणालीमा अपलोड गरेर पूर्व स्वीकृति लिएको भन्दै अनलाइन प्रणालीले काम नगरेको अवस्थामा उक्त विकल्पमा जानुपर्ने विषयमा सचिव गौतमको ध्यानाकर्षण गरेकोले केही दिनमा निकास आउने आशा जागेको बताए ।

सचिव गौतमले बेरोजगार समस्याको समाधान र नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रको भूमिकालाई आफुले नङ र मासुजस्तो निकट सम्बन्धका रुपमा बुझेको भन्दै विस्तृत रुपमा व्यवसायीसँग छलफलमा बस्न चाहेको बताएको संघ कार्यसमिति सदस्य कर्णराज कटुवालले जानकारी दिए ।

 

प्रतिकृया