पोखरामा पर्यटकको चहलपहल बढ्दै
प्रकाशित मिति
२०७७ फाल्गुन १३ गते, बिहीबार ०२:५४

१३ फागुन, काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् ।
देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरलले बताए । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् । विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ ।
अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् । पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको पोखरेलले जानकारी दिए । उनले भने, “आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्र्यक्रम सञ्चालनपछि पोखरामा पर्यटकको चहलपहल बढेको छ । केही समय अझै आन्तरिक पर्यटनमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले स्वदेशी पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”
प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो । कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो । अहिले पनि आन्तरिक पर्यटकको आकर्षण प्याराग्लाइडिङमा देखिएको नेपाल हवाई खेलकूद संस्था नाले जनाएको छ ।
पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेष्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ । पोखराका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।
प्रतिकृया