आफन्तद्वारा भागरथीको शव बुझ्न अस्वीकार
प्रकाशित मिति
२०७७ फाल्गुन ६ गते, बिहीबार ०१:२२
काठमाडौं: बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले सोही गाउँका दिपक भट्टलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका १६ वर्षीय भट्टलाई सार्वजनिक गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डिआइजी० उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए। “अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ”, उनले भने, “आरोपितको बारम्बारको बयान बाझिएको र उनले गरेको गतिविधिले घटनामा उनको संलग्नता पुष्टि भएको छ।”
उनका अनुसार शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको छ। डिआइजी सुवेदीले भने, “आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौँ।”
प्रहरीले अभियुक्त सार्वजनिक गरे पनि भागरथीका आफन्तले अझै शव नबुझ्ने बताएका छन्। उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ। अपराधी भनेर प्रहरीले सार्वजनिक गरिएका दिनेशले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग छ।
“दिनेशले हत्या मात्रै गरेको स्वीकारेको छ, तर परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको भनिएको छ”, भागरथीका काका शिवराज भट्टले भने, “परीक्षण रिपोर्टले बलात्कारपछि हत्या भनेको छ, हत्यारा पत्ता लागेको भए पनि बलात्कारीलाई पनि खोज्नुपर्छ, बलात्कारी पत्ता नलाग्दासम्म शव बुझ्दैनौँ।”
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते बेलुका स्थानीय लवलेक जंगलमा निर्वस्त्र र वीभत्स अवस्थामा शव फेला परेको थियो। यता भागरथीको शव भेट्टिएको दिनदेखि नै आन्दोलनमा रहेका आन्दोलनकारीले प्रहरीले चित्त बुझ्दो प्रमाणसहित सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन्।
भागरथीको न्यायका लागि गठित संघर्ष समितिका संयोजक निशा भट्टले दिनेश नै अपराधमा संलग्न थिए भन्ने कुरा प्रमाणित गर्नुपर्ने बताए। यस्तै संघर्ष समितिका सदस्य भोजराज जोशीले हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेको बताए। उनले भने, “यो घटनामा एउटै व्यक्तिको संलग्नता हुनै सक्दैन, बलात्कारी पनि सार्वजनिक गर्नुपर्छ।”








प्रतिकृया