• २० असोज २०८३, मंगलबार
  • ५ः३३ बेलुका

नेपाल टेलिकमको १७औँ वार्षिकोत्सव, टेलिकमलाई प्रतिस्पर्धी कम्पनीका रूपमा विकास गर्न सञ्‍चारमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०४:५५

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

National Life

टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ।’ उनले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिए।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गरे। वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो।

यस्तै कोरोना महामारीको बेलामा पीसीआर परीक्षणमा अब्बल विध ल्‍याबलाई पनि सम्‍मान गरिएको छ। विध ल्‍याबका प्रमुख कार्यकारी अधिकृत रविशंकर पोखरेलले उक्त सम्मान ग्रहण गरेका थिए।

मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएपछि बनेको नेपाल टेलिकम आज आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा अहिले दुई करोड नौ लाख पुगेका छन्।

करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ। आर्थिक वर्ष २०७६-०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ।

कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ।

 

प्रतिकृया