• १३ असोज २०८३, मंगलबार
  • २ः१२ दिउँसो

‘नेपालको नीति तटस्थता’

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०९:११

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं।

National Life

नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन्। नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ।’ प्रधानमन्त्री ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारे।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपन आएको थियो। भारतीय केही कूटनीतिज्ञ र सञ्चारमाध्यमले नेपालले चीनको उक्साहटमा भारतविरुद्ध प्रयोग भएको आरोप लगाउँदै आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय नेपालले चीनसँग बढी झुकाव राखेको भन्ने आरोपको प्रधानमन्त्री ओलीले खण्डन गरे। ‘यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’

नेपाल र भारत भूगोलमा सानो ठूलो भए पनि सार्वभौम मुलुकका रूपमा समान हैसियत रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले भारत राम र नेपाल लक्ष्मण भएको प्रसंग उल्लेख गर्दै के नेपालले भारतलाई ठूलो दाइ मान्न अस्वीकार गरेको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘भारत राम हो, नेपाल लक्ष्मण हो भन्ने आसय तपाईंको प्रश्नमा पनि झल्किन्छ।

भूगोलमा कुनै मुलुक सानो कुनै ठूलो हुन सक्छ तर देशका रूपमा ठूलो सानो हुन सक्दैन,’ हिन्दी भाषामा लिइएको अन्तर्वार्तामा, प्रधानमन्त्रीको जवाफ थियो, ‘सार्वभौमसत्ता सम्पन्न देश, दुई असल मित्र, एउटा क्षेत्रमा रहेका नेपाल–भारत समान देशहरू हुन्। यो पुरानो जमाना होइन, उपनिवेशिक समय होइन। यो पारस्परिक सम्बन्ध र सहयोगको समय हो।’

प्रधानमन्त्री ओलीले दुई देशबीच देखिएको सीमा विवादबारे पनि स्पष्ट पारे। केही भारतीय सञ्चारमाध्यमले चीन र भारतबीच गलवानमा सैन्य तनाव बढिरहेका बेला नेपाल चीनको उक्साहटमा गएको आरोप लगाएका थिए। तर प्रधानमन्त्री ओलीले चीन–भारतबीचको विवादसँग नेपाललाई नजोड्न सुझाए। अन्नपूर्णपोस्ट् दैनिकबाट

प्रतिकृया