परराष्ट्रमन्त्री भारत जानुहुने
प्रकाशित मिति
२०७७ पुष २५ गते, शनिबार ०६:३१
काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । भ्रमणका सम्बन्धमा औपचारिक मिति तय भइनसकेको भए पनि भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“कार्यसूची तय गर्ने विषयमा काम गरिरहेको, सबै कुरा मिलेपछि भ्रमणमा जाने औपचारिक मिति तय हुनेछ,’’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा शुक्रबार आयोजित एक सार्वजनिक सम्बोधनमा परराष्ट्रमन्त्रीको भारत भ्रमण जनवरी १४ अर्थात् माघ १ गते हुने बताउनुभएको छ । परराष्ट्रमन्त्रीको आसन्न भारत भ्रमणले सुदूरपश्चिम क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्राप्त जानकारीअनुसार भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनुहुनेछ । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने सो बैठकमा उहाँले भारतका उच्च नेतृत्वसँग समेत भेटवार्ता गर्नुहुनेछ ।
आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका विविध परियोजना र अन्य अलमलमा परेका समस्याका विषयमा छलफल हुने सम्भावना औँल्याइएको छ । बैठकले परियोजनामा प्राप्त सफलता र गाँठो परेका विषय फुकाउने कार्यदिशा तय गर्नेछ ।
यस पटकको बैठकमा नेपाल–भारतबीच थाँती रहेका तथा सीमा समस्याका विषयमा समेत छलफल गर्ने तयारी गरिएको छ ।
मन्त्री ज्ञवालीले नै विभिन्न सार्वजनिक कार्यक्रममा त्यस विषयमा संयुक्त आयोगको बैठकमा कुरा उठाइने टिप्पणी गर्नुभएको थियो । जसअनुसार तत्काल समाधान गर्नुपर्ने देखिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको विषयमा समेत बैठकमा
कुरा हुनेछ । साथै भारतले उत्पादन गरेको कोभिड–१९ खोप नेपाल ल्याउनसमेत उहाँले आवश्यक पहल गर्नुहुनेछ । सन् २०२० नोभेम्बरमा नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गलामार्फत भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्ता पठाउनुभएको थियो ।
सन् २०१९ मा संयुक्त आयोगको पाँचौँ बैठक नेपालमा बसेको थियो । यस पटकको बैठकमा गत बैठकमा समेत थाँती रहेको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझाउने विषयमा समेत थप छलफल हुने जनाइएको छ ।
भारतको लगानी रहेका विभिन्न जलविद्युत् आयोजना, जलस्रोत र यस क्षेत्रका समस्याबारे बैठकमा छलफल हुने औँल्याइएको छ । गोरखापत्र बाट








प्रतिकृया