• ११ असोज २०८३, आइतबार
  • ७ः४४ बिहान

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०८:३९

काठमाडौं, पुस २२ । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ ।

National Life

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।

चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

विभागका महानिर्देशक सुमन दाहालले तथ्यांकअनुसार जेनेरेटरको आयात बढेको बताए । उनले भने, ‘फेरि लोडशेडिङ हुने हल्लाकै कारण हो वा अन्य कारणले हो भन्न सकिन्न गतवर्षको तुलनामा जेनेरेटरको आयात भने बढेको देखिन्छ ।’

कुलमान घिसिङको कार्यकाल सकिएसँगै विस्तारै पहिलेको तुलनामा बढी बिजुली काटिन थाल्दा सर्वसाधारणमा लोडशेडिङ फेरि शुरू हुने हो कि भन्ने आशंका बढ्दै गएपछि प्राधिकरणले दुईपटक विज्ञप्ति नै निकालेर लोडशेडिङ नहुने बताइसकेको छ । गत साता केही ठाउँमा बत्ती जाने क्रम बढेको र ललितपुरका केही स्थानमा लोड कम गर्न विद्युत् काटिने सूचना नै प्राधिकरणले निकालेको थियो । यद्यपि, प्राविधिक समस्या, विद्युत् मर्मत र मौसमका कारण सामान्य विद्युत् कटौती गरिएकोमा लोडशेडिङ नहुने भन्दै गत साता प्राधिकरणले पुनः विज्ञप्ति निकालेको छ ।

गतवर्षको तुलनामा यस वर्ष कम बिजुली कटौती भएको दाबी प्राधिकरणको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विद्युत् कटौतीको समय घटेको बताए । जाडो बढेसँगै विद्युत्को माग बढ्दै गएको उनको भनाइ छ । सोमवार विद्युत्को उच्च माग करीब १५ सय मेगावाट रहेकोमा यो अघिल्लो वर्षको भन्दा बढी हो । सामान्यतया गर्मी मौसममा भन्दा चिसोमा विद्युत्को माग उच्च हुने गरेको छ । हाल भारतबाट दैनिक ६ सय २० मेगावाट विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले माग बढेपछि थप विद्युत् आपूर्ति गर्ने योजनासमेत बनाइरहेको छ ।आर्थिक अभियान दैनिकबाट

 

प्रतिकृया