स्वागतयोग्य विज्ञापन नीति बनाउन मन्त्री गुरुङको निर्देशन
प्रकाशित मिति
२०७७ मंसिर २४ गते, बुधबार ०७:२५
काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उनले देशभरको विज्ञापनलाई कसरी एकीकृत र समानुपातिक गरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिएर नीति बनाउनुपर्नेमा जोड दिए । हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई चिरफार गर्ने गरी नीति निर्माण अघि बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री गुरुङले विज्ञापन सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचका साथ हुनुपर्ने आवश्यक्ता औँल्याए ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले विज्ञापन बोर्ड ऐन २०७६ को सही तरिकाले कार्यान्वयन गर्नका लागि बोर्डको स्थापना गरिएको पनि स्पष्ट पारे ।
कार्यक्रममा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी कार्यविधि बनाउने प्रयास गर्ने बोर्डका कामुअध्यक्ष डिल्लीराम शर्माले प्रतिबद्धता जनाए । यही मङ्सिर ११ गतेको मन्त्रिस्तरीय बैठकले नौ सदस्यीय बोर्डको गठन गरेको थियो ।
रासस






प्रतिकृया