• ९ असार २०८३, मंगलबार
  • ७:१२ बिहान

द्वन्द्व पीडित महिला नेपाली कागज बनाउँदै

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०४:१९

कैलाली,जिल्लाको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् ।

द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण कार्य थालेका हुन् । टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण भएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ । आम्वासकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको लिफाफा अथवा खाम बेच्नुहुन्छ ।

Kamana Sewa

गाउँमै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उहाँले घरबाटै बेच्न थाल्नुभएको हो । ‘‘हामी १० जना महिला काम गर्छौँ । अन्य व्यवस्थापनको काम सञ्जालले गर्छ’’, कृष्णादेवीले भन्नुभयो, ‘‘बजारको चिन्ता छैन, खाम र कागज नै किन्नेहरु घरै पुग्छन्, अन्य ठाउँबाट पनि माग आउन थालेको छ ।’’

Classic Tech Desktop

कागज बनाउन गाउँ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ । प्रशोधनसहित महिलाले गाउँमै नेपाली कागज उत्पादन गरिरहेका छन् । अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरी बताउनुहुन्छ ।

‘‘महिलाले उत्पादन गरेको कागज र खामले बजार सहज पाइरहेको छ’’, चौधरी भन्नुहुन्छ, ‘‘कैलालीका धेरैजसो सरकारी कार्यालयले यहीबाट कागज र खाम खरिद गरिदिन थालेका छन् । कागजको बजार खोज्न तनाव छैन ।’’

टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि रु पाँच लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् । नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ । ‘‘उहाँहरुले राम्रो काम गर्नुभएको छ । हामी थप मेसिन आवश्यक भए सहयोग गर्नेछौँ’’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘‘उत्पादित कागजको बजारीकरणका लागि पनि हामी सहयोग गर्नेछौँ ।’’

उद्योगमा आवद्ध महिलाले यसरी गाउँमै काम गर्न पाउँदा घर खर्च चलाउन सहज हुने बताएका छन् । स्थानीय स्रोत साधनको प्रयोग हुने, गाउँघरमा स्वरोजगारको अवसर प्राप्त हुने भएकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उद्योगले सहयोग पुगाएको स्थानीय गणेश क्षेत्री बताउनुहुन्छ ।

‘‘केराको उत्पादन लिएपछि विकारको रुपमा केराको थामलाई फाल्ने गरिन्छ । तर त्यही केराको थामलाई प्रयोग गरी आम्वासका महिला आम्दानीको स्रोतको रुपमा विकास गर्दै गएका छन्’’, क्षेत्री भन्नुहुन्छ, ‘‘बहुउपयोगी केरा खेतीलाई यसले प्रवद्र्धन गर्छ । महिलालाई आर्थिक रुपमा बलियो बनाउन सघाएको छ ।’’रासस

प्रतिकृया