• ९ असार २०८३, मंगलबार
  • ८:२८ बिहान

टोकन प्रणालीमार्फत धान खरिद शुरु

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०४:१३

कञ्चनपुर, सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको सङ्ख्या अधिक भएका कारण टोकन प्रणालीमार्फत धान खरिदको कार्य शुरु गरेको छ ।

“कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भीडभाड हुन नदिनका लागि टोकन प्रणालीमार्फत धान खरिद शुरु गरेका छौँ”, कम्पनीका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद खरलेले भने, “टोकन प्रणालीअनुसार धान खरिद हुन थालेपछि भीडभाड नभई सहजरुपमा धान खरिदको कार्य भइरहेको छ ।”

Kamana Sewa

उनका अनुसार शुरुमा दुईवटा काँटा राखेर धान खरिद शुरु गरिएकामा कार्यलाई छिटोछरितो बनाउनका लागि तीनवटा काँटा थपिएका छन् । यसबाट एकैपटक धेरै किसानको धान खरिद गर्न सहज भइरहेको छ । कम्पनीले धान खरिदका लागि हालसम्म १५० टोकन वितरण गरेको छ । “कम्पनीमा ५० क्विन्टलमाथि धान बिक्री गर्न ल्याउने किसानसँग लालपुर्जा माग्ने गरेका छौँ”, निमित्त कार्यालय प्रमुख खरेलले भने, “वास्तविक किसान हो-होइन भनेर लालपुर्जा माग्ने गरिएको छ ।” व्यापारीहरुले समेत किसानबाट सस्तोमा धान खरिद गरी कम्पनीमा बेच्नका लागि ल्याउने भएकाले लालपुर्जा माग्ने गरिएको उहाँको भनाइ छ ।

Classic Tech Desktop

कम्पनीलाई सात हजार क्विन्टल धान खरिदका लागि कोटा निर्धारण गरिएको छ । हालसम्म कम्पनीले ५०० क्विन्टल बढी धान खरिद गरिसकेको छ । गत वर्षसमेत सात हजार क्विन्टलकै हाराहारीमा कम्पनीले धान खरिद गरेको थियो । मंसिर ३ गतेसम्मका लागि धान खरिद गर्न कम्पनीले टोकन वितरण गरिसकेको छ । किसानलाई पालो पु¥याएर कम्पनीले टोकन दिने गरेको छ । यस वर्ष धानको उत्पादन बढी भएकाले निर्धारित कोटाभन्दा बढी धान खरिद हुने कम्पनीका कर्मचारीको भनाइ छ ।

कम्पनीले मोटो धान मात्रै सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु दुई हजार ७३५ मा खरिद गरिरहेको छ । असार महिनामै सरकारले धानको दररेट निर्धारण गरे पनि कम्पनीले धेरै ढिलो धान खरिद गर्न शुरु गरेको हो । कार्यालय र आर्थिक व्यवस्थापन गर्न ढिलाइ हुँदा धान खरिदकार्यमा विलम्ब भएको कम्पनीका कर्मचारीको भनाइ छ ।

खरिद गरिएको धान कम्पनीले भण्डारण गरी बोलपत्र प्रक्रियाद्वारा धानको कुटाइ गरी चामल बनाइ धनगढीको कैलालीको कार्यालयमा पठाउने गर्दछ । कैलालीस्थित कम्पनीको कार्यालयले चामलको अभाव भएका पहाडी, हिमाली जिल्लामा सहुलियत दरमा चामल बिक्री वितरणको कार्य गर्दै आएको छ ।

कञ्चनपुरमा खेती गरिएको कूल क्षेत्रफल ५६ हजार ६०२ हेक्टरमध्ये धानखेती ४८ हजार ४९६ हेक्टरमा हुने गरेको छ । यसको उत्पादन एक लाख ८९ हजार १३४ दशमलव ४० रहेको छ । चालु आवमा धानको उत्पादन १५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।-रासस/File photo

प्रतिकृया