दसैंमा घर फर्किने घटे : दैनिक औसत २२ हजार जनाले काठमाडौं उपत्यका छोड्दा, भित्रिने १५ हजार
प्रकाशित मिति
२०७७ कार्तिक ५ गते, बुधबार ०१:३७
काठमाडौं, सामान्य अवस्था भएको भए यतिखेर काठमाडौं उपत्यकाबाट घर फर्किने मानिसको लर्को हुन्थ्यो। अग्रिम बुकिङ खुलेका टिकट काउन्टर र बसमा मानिसको भिडभाड। तर कोभिड-१९ संक्रमणको कारण यसपटकको दसैं सुनसान छ।
काठमाडौं उपत्यका छोड्ने मानिसको संख्या पनि पहिलेको दसैंको तुलनामा झन्डै १ चौथाइ पनि छैन। गएका वर्षका दसैंमा सप्तमीभन्दा दुई दिनअघि करिब १ लाख मानिसले उपत्यका छोड्थे। शुक्रवार फूलपाती तर घर फर्किने मानिसको संख्या भने कम देखिन्छ।
TaTaTVS
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार कात्तिक १ गतेदेखि दैनिक २३ हजार मानिसले मात्र काठमाडौं उपत्यका छोडेका छन्। कात्तिक १ गते २१ हजार ४ सय ७९ जना मानिस काठमाडौं नाकाबाट बाहिर गएको देखिन्छ। सो समयमा ४ हजार ७ सय २१ वटा सवारी साधन बाहिरिएका छन्।
कात्तिक २ गते २३ हजार ३ सय ९२ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। दुई र चार पाङ्ग्रे गरेर ४ हजार ६ सय ५८ वटा सवारी बाहिरिएका छन्। कात्तिक ३ गते ४ हजार ७ सय १९ वटा सवारी साधन बाहिरिए। सामान्य समय भएको भए यो संख्या १२ हजार माथि हुन्थ्यो। तर संक्रमणको कारण त्यसो भएन यो पटक। यो अवधिमा २३ हजार ८ सय ३६ जना मानिसले काठमाडौं उपत्यका छाडेका छन्।
कात्तिक ४ गते अर्थात् मंगलबार काठमाडौँबाट बाहिरिने मानिसको संख्यामा कमी देखियो। २२ हजार २ सय ९९ जना मानिसले काठमाडौं उपत्यका छोडेका छन्। ४ हजार ४ सय ७८ सवारी साधन बाहिरिए।
यो अवधिमा काठमाडौं उपत्यका भित्रिने मानिसको संख्या पनि झन्डै बाहिरिने जतिकै देखिन्छ। मङ्गलवार १४ हजार ९ सय ७१ जना मानिस काठमाडौं उपत्यकाभित्र प्रवेश गरेका छन्। यसअघिका अघिल्ला तीन दिनमा औसत १६ हजार मानिस काठमाडौं आएका हुन्।
त्यसो त चैत ११ गतेबाट सरकारले देशभर लकडाउन घोषणा गरेपछि नै मानिस काठमाडौं छोड्ने गरेकाले पनि यो पटकको दसैंमा गाउँ फर्किनेको संख्यामा कमी आएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ।
सरकारले लामो दुरीका सवारी साधनलाई असोज १ गतेबाट सञ्चालन गर्न दिएदेखि हालसम्म काठमाडौं उपत्यकाबाट ६ लाख ७० हजार ८१ जना मानिसले काठमाडौं छाडेको प्रहरीको तथ्यांकले देखाउँछ। यो अवधिमा १ लाख ५२ हजार ९सय ३८ वटा सवारी साधन बाहिरिएका छन्। त्यस्तै एउटै समयमा उपत्यका भित्रिने मानिसको संख्या ६ लाख २० हजार ८९ रहेको छ। १ लाख ५३ हजार ७ सय १० सवारी बाहिरिएका छन्।






प्रतिकृया