नास्पाती बिक्रीबाट वार्षिक पाँच करोड भित्र्याउँदै दक्षिणकाली
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार ०२:३४
दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक पाँच करोड रुपैयाँ भित्रिने गरेको छ ।
नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ ।नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा ९, ३ र ४ मा समेत नास्पाती खेती गरिएको छ ।

नगर प्रमुख मोहन बस्नेतले आधुनिक प्रविधिबाट नास्पाती खेती गरी कृषकको जीवनस्तर उठाउन नगरपालिका लागिपरेको बताए । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ देखि नास्पाती ब्लक निर्माण गरी खेती गर्न सहयोग गर्दै आएको छ ।

दुई आर्थिक वर्षसम्म वार्षिक ५० लाख रुपैयाँका दरले प्रदेश सरकारबाट नास्पाती प्रवद्र्धनका लागि प्राप्त भएको कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रविकुमार केसीले जानकारी दिए ।
वार्षिकरूपमा प्रदेश सरकारले दिएजति नै स्रोत उपभोक्ताबाट समेत जुटाएर नास्पाती खेतीलाई व्यावसायिकरूपमा विकास गर्न लागिएको नास्पाती ब्लक व्यवस्थापन समितिका अध्यक्ष कविता अधिकारीले बताए ।
नगरपालिकामा हाल करिब पाँच हजार रोपनी क्षेत्रफलमा नास्पाती रोपिएको छ । खेत, बारीको छेउ र भित्तामा नास्पाती रोपी बीचमा भने मकै, धान, कोदो, तोरी, भटमास जस्ता अनाज लगाउने गरिएको छ ।
साउन दोस्रो सातादेखि असोज दोस्रो सातासम्म त्यहाँ नास्पाती पाइन्छ ।
वडा नम्वर ८ मा नास्पाती र वडा नम्वर ९ मा लप्सीको खेती उल्लेख्य हुने गरेको छ । लप्सीको समय भने कात्तिकपछि सुरु हुन्छ । करिब दुई महिनासम्म लप्सीको व्यापार हुने गरेको छ ।
बागमती प्रदेश सरकारले वडा नम्वर ९ मा लप्सी ब्लक व्यवस्थापनका लागि पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
यस क्षेत्रमा वार्षिक ५० लाखभन्दा बढी नास्पाती व्यापार गर्ने दुई व्यवसायी रहेको समितिले जनाएको छ । यस वर्ष ८५ लाखको नास्पाती व्यापार गरिसकेको वडा सदस्यसमेत रहेको व्यवसायी बलामीले बताए ।
कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष मूल्य पाउन नसकिएको किसानको अनुभव छ । एउटै दानामा सवा किलोसम्मको नास्पाती त्यहाँ उत्पादन हुने गरेको छ । रासस




प्रतिकृया