• ८ असोज २०८३, बिहीबार
  • २ः१४ दिउँसो

लकडाउनमा एउटा विभत्स हत्या, खोला किनारमा युवतीको शव भेटियो

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार १२:५६

काठमाडौं, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक नबचोस् भनेर शव क्षतविक्षत पारिएको अनुमान लगाउन गाह्रो थिएन ।

National Life

हनुमन्ते करिडोर निर्माण भइरहेको ठाउँ क्लोज सर्किट (सीसी) क्यामरा पनि छैन । केही पर भएका क्यामराका फुटेज हेर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाउन सकेन । सनाखत नभएपछि अनुसन्धानले समेत गति लिन सकेको छैन । हालसम्म घटनाबारे यकिन भएको एउटा मात्र हो, युवतीको विभत्स हत्या भएको छ ।

फरेन्सिक टोली भन्छ – १७-१९ वर्षकी युवती

Classic Tech Mobile
Classic Tech Desktop

अनुसन्धान अधिकृतले शवको प्रकृति हेरेर बलात्कारपछि हत्या भएको हुनसक्ने समेत आशंका गरेका छन् । तर शव सडिसकेको अवस्थामा भेटिएकाले यकिन विवरण पत्ता लगाउन समस्या भएको छ । फरेन्सिक विज्ञानले पनि मृत्युको कारण ‘अनडिटरमाइन्ड’ भन्दै शवको चोटपटकबारे मात्रै व्याख्या गरेको छ ।

फरेन्सिक विज्ञको टोलीले १७ देखि १९ वर्षकी महिलाको शव भएको भनेको छ । शव भेटिएको १० देखि १५ दिनअघि हत्या भएको हुनसक्ने आशंका गरेको छ । अपराधस्थलमा केही दिन शव राखेर मात्रै खोलामा फ्याँकिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पहिल्यै ल्याएको भए, त्यहाँ आसपास काम गर्ने मजदुरहरुले शव देखिहाल्थे’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् । घटनाबारे अनुसन्धान गरिरहेका अधिकृतहरुसँग रहेको अर्को सूचना भनेको युवती ५ फिट २.३ इञ्चकी छन् र निलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी छन् ।

भक्तपुर प्रहरी परिसरले १७ चैतमा शव भेटिएलगत्तै सनाखतका लागि ७७ वटै जिल्लामा हुलिया परिपत्र गरेको थियो । फरेन्सिक टोलीको निष्कर्ष अनुरुप फागुन महिनादेखि शव भेटिएको समयसम्म हराएको भन्दै उजुरी परेका युवतीको ८५ वटा घटनाको अनुसन्धान गरिसकेको छ । यसका लागि प्रहरी प्रधान कार्यालयमा रहेको खोजतलास डेस्कले पनि सहयोग गरेको छ ।

तर कुनै केश अनुसन्धानमा सहयोगी साबित भएन । बरु हराएका कतिपय युवती विवाह गरेर अन्य केटासँग बसिरहेको अवस्थामा फेला परे । कोही घरमा नभनी डान्स बारमा काम गर्न थालेपछि परिवारले उजुरी दिएको भेटिए ।

टाउकोको खोजी

शव भेटिएका स्थान आसपास काम गर्ने मजदुर, ठेकदारलगायत गरी डेढ सय व्यक्तिसँग प्रहरीले बयान लिइसक्यो । अनुसन्धानमा टोली पटकपटक फेरिएको छ । तत्कालीन भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान सरुवा भइसकेका छन्, अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापा, प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरिरहेका छन् । तर, अनुसन्धानले सही बाटो समात्न सकेको छैन । हाल घटनाको अनुसन्धानमा जुटिरहेका महाशाखाका प्रमुख दीपक थापा विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको सुनाउँदै विस्तृतमा बताउन नसकिने बताउँछन् ।

शवको सनाखतमा सहयोग गरिदिन उनको आग्रह छ । आमनागरिकलाई थापाको आग्रह छ, ‘फागुनदेखि चैतको समयमा कसैको छोरीचेली हराउनु भएको छ भने कृपया खबर गरिदिनुहोला । यसले हत्याका दोषीलाई पत्ता लगाउन मद्दत पुग्छ ।’ भक्तपुर प्रहरीकी एसपी तारादेवी थापा पनि महाशाखासमेतसँग समन्वय गरेर अनुसन्धान जारी राखिएको बताउँछिन् । ‘केही आधारहरु भेटिएका छन् तर, ती सतप्रतिशत प्रमाणित नभई यकिनरुपमा बताउन मिल्दैन’, थापाले अनलाइनखबरसँग भनिन्, ‘हाल अनुसन्धान गम्भीरतापूर्वक भइरहेको छ भन्न मात्र सकिन्छ ।’

के हुनसक्छ हत्याको कारण ?

अनुसन्धान अधिकृतहरुका विश्लेषणलाई आधार मान्ने हो भने युवतीको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । संवेदशील अंगलाई पनि क्षतविक्षत बनाइएको हुनाले पनि यो आशंकालाई बल पुर्‍याएको छ । शवलाई जुन किसिमले व्यवस्थापन गरिएको छ, त्यो हेर्दा दुई वा दुईभन्दा बढीको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

गाडीमा लगेर टाउको एकातिर शव अर्कातिर फ्याकिएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको केही दिनपछि मात्रै शव खोलामा फ्याकिएको हुनसक्ने देखिएकाले युवतीको कुनै होटल, रिसोर्ट वा अन्यत्र हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान गरिरहेका अधिकृतहरु भन्छन्, ‘सनाखत भए सबै कुरा सतहमा आइहाल्थे, परिचय नै नखुलेपछि समस्या भयो ।’

 

प्रतिकृया