• ९ असोज २०८३, शुक्रबार
  • ६ः१३ बेलुका

बस्ती विस्थापनबारे अध्ययन समिति गठन

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ०६:०६

वालिङ, स्याङ्जाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने÷नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको छ । नगरपालिकाका १४ वटा वडामा पहिराका कारण जोखिममा परेका बस्ती विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गरी नगर कार्यपालिकामा प्रतिवेदन बुझाउन भनिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

National Life

अध्ययन समितिले विस्थापित गर्नैपर्ने बस्ती र तिनीहरुलाई विस्थापित गर्नुपर्ने सम्भावित सुरक्षित स्थानको खोजी गरी नगर कार्यपालिकामा प्रस्ताव गर्ने उहाँले बताउनुभयो । “नगरपालिकाभित्रका १४ वटा वडाबाट जोखिममा परेका घरपरिवारबाट निवेदन प्राप्त भइरहेका छन्”, नगरप्रमुख खाँणले भन्नुभयो, “प्राप्त निवेदनहरुका आधारमा समितिले भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि एक महिनाको समयावधि दिएका छौँ ।”

प्रस्तावित बस्ती तथा जग्गाको भूगर्भविद्को सहयोगमा नगरपालिकाले अध्ययन गरेर आवश्यक निर्णय लिने नगरप्रमुख खाँणको भनाइ थियो । भूगर्भविद्को भौगोलिक अध्ययनपश्चात् उनीहरुले दिएको प्रतिवेदनका आधारमा पायक पर्ने स्थानमा एकीकृत बस्ती बसालिने उहाँले बताउनुभयो । नगर कार्यपालिकाको ५७औँ बैठकले पहिराको कारण जोखिममा परेका बस्तीको भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि वडा नं १३ का अध्यक्ष आनन्द पाठकको संयोजकत्वमा इन्जिनीयरसहितको आठ सदस्यीय समिति बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

समितिले प्राकृतिक विपद्मा परेका बस्तीमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने र सिफारिस गर्ने संयोजक पाठकले बताउनुभयो । “नगरका १४ वटै वडामा कहाँ कहाँ विपद्का कारण बस्ती जोखिममा छन् त्यसको अवलोकन निरीक्षण गर्छौं”, संयोजक पाठकले भन्नुभयो, “बस्ती सार्नै पर्ने अवस्था देखिएमा समाधानका लागि विकल्प दिने गरी काम गर्ने छौँ ।” नगरपालिकाका १४ वटै वडामा एक सयभन्दा बढी घर जोखिममा परेको हुन सक्ने भए पनि यथार्थ विवरण भने आइनसकेको विपद् व्यवस्थापन शाखाप्रमुख पदमप्रसाद पाण्डेले बताउनुभयो ।
रासस

प्रतिकृया