• २७ भदौ २०८३, शनिबार
  • ६ः१२ बिहान

रुपन्देहीमा लकडाउन खुकुलोः भदौ २८ गतेसम्म थप

प्रकाशित मिति

२०७७ भाद्र २० गते, शनिबार ०६:१२

बुटवल, कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको छ ।

National Life

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि व्यापार–व्यवसाय बिहान ११ देखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी प्रशासनले आदेश जारी गरेको छ । यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन् । सरकारी कार्यालयहरुमा भीडभाड नहुने गरी व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी महादेव पन्तद्वारा आज जारी आदेशमा भनिएको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने प्रजिअ पन्तले जारी गर्नुभएको आदेशमा उल्लेख गरिएको छ । उद्योग व्यवसायअन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने यसअघिकै आदेशअनुसार पूर्णरुपले बन्द रहनेछन् । प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने र विभिन्न नाका प्रयोग गरेर गैरकानूनी रुपमा नेपाल भारत आउन जान पनि रोक लगाइएको छ तर नेपाल सरकारले आवतजावतका लागि तोकेको बेलहिया नाकाबाट हुने आवतजावतलाई भने खुल्ला रहने बताइएको छ ।

रुपन्देही जिल्ला हँुदै मुख्य राजमार्गमा अत्यावश्यक गाडी चल्न पाउने तर जिल्लाभित्र सरकारले अनुमति दिएकाबाहेक कुनै पनि गाडी चलाउन रोक लगाइएको छ । प्रशासनले जारी गरेको आदेशमा अत्यावश्यकीय वस्तु र सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायत क्षेत्रका गाडी सञ्चालनमा भने कुनै पनि किसिमले रोक लगाइएको छैन ।
रासस

प्रतिकृया