• २२ जेठ २०८३, शुक्रबार
  • ४:२५ बेलुका

मिश्रलाई अख्तियारको पत्र, के भनिएको छ पत्रमा ?

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार १२:३३

काठमाडौं, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मुछिएका सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेको छ । अनुसन्धान प्रक्रिया तामेलीमा राखिएको सार्वजनिक भइरहेका बेला त्यस प्रकरणमा जोडिएका अर्का व्यक्ति विजयप्रकाश मिश्रलाई अख्तियारले बोलाएपछि छानबिन जारी नै रहेको उजागर भएको हो ।

अख्तियारले मिश्रलाई केही बुझ्नुपर्ने भएकाले प्रहरी महाशाखामा सात दिनभित्र उपस्थित हुन सूचना प्रकाशित गरेको छ । मिश्र भने अहिले जापानमा छन् । अख्तियारले अनुसन्धान शुरु गरेपछि मिश्र जापान भागेको हल्ला फैलिएपछि उनले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सघाउन चाँडै अख्तियार आउने बताएका छन् ।

Kamana Sewa

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा मिश्र र बाँस्कोटाबीच ७० करोड रुपैया लेनदेनको कुरा भएको थियो । त्यस कुराकानीको अडियो टेपसमेत सार्वजनिक भएको थियो । त्यो टेप सार्वजनिक भएपछि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । त्यस विषयमा संसदको राज्य व्यवस्था तथा सूशासन समितिमा समेत व्यापक छलफल भएको थियो । समितिकै निर्देशनमा अख्तियारले त्यसको छानबिन गरिरहेको छ ।

Classic Tech Desktop

पूर्वमन्त्री बाँस्कोटाले भने त्यस विषयमा आफू निर्दाेष रहेको बताउँदै आएका छन् । तर मिश्रले भने अडियो वास्तविक रहेको र बाँस्कोटाले ७०करोड रुपैयाको बार्गेनिङ गरेको दावी गरिरहेका छन् । यसबीचमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन अनुसन्धान प्रक्रिया नै टुङग्याएर तामेलीमा राखेको विषय सार्वजनिक भएको थियो । त्यही प्रकरणमा अख्तियारले पछिल्लोपटक मिश्रलाई त्यस विषयमा केही बुझ्नुपर्ने भन्दै सात दिनभित्र उपस्थित हुन सूचना प्रकाशित गरेको छ ।

‘यो म्याद सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृतसमक्ष सम्पर्क राख्न आउनुहोला, नआए कानुनबमोजिम भइ जाने छ’ अख्तियारको सूचनामा भनिएको छ । अख्तियारले यस्तो सूचना प्रकाशन गरेपछि पनि दुई थरि विश्लेषण भइरहेको छ । एक थरिले बाँस्कोटालाई उन्मुक्ति दिन नै अख्तियारले यो सूचना प्रकाशित गरेको आरोप लगाइरहेको छ । मिश्र जापान गएको मौका छोपी पो सूचना प्रकाशित गरिएको छ, मिश्र अहिले जापानबाट आउने अवस्था न्यून देखेर सूचना निकालेको हुनुपर्छ, ऊ आउँदैनन् यता मिसिल तामेलीमा राख्न सजियाले हुन्छ’, एक थरिले विश्लेषण गर्दै भने ।

अर्का थरिरेको विश्लेषण भने अलि फरक छ । बाहिर व्यापक आलोचना भएपछि अख्तियारले त्यस प्रकरणको अनुसन्धान प्रक्रिया अगाडि बढाउन चाहेको छ । त्यसैले बाँस्कोटामाथि आरोप लगाउने मिश्रलाई सबूदप्रमाणसहित अख्तियारले छानबिनका क्रममा बोलाएको हो । अख्तियारले भने त्यस विषयमा निष्पक्ष रुपमा अनुसन्धान तथा छानबिन कार्य अघि बढाएको जनाएको छ ।

मिश्रले अख्तियारका अनुसन्धान अधिकृत र आफूबीच नियमित कुराकानी भइरहेको भन्दै भ्रष्टाचारजस्तो विषयमा कोही पनि उम्किन नमिल्ने बताएका छन् । जापानमा आफू रहेको र चाँडै नेपाल फर्किर रेकर्डिङ डिभाइस उपलब्ध गराउने भनेका छन् । ‘राजनीतिक आवरणमा भएको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनका लागि सहयोग गर्छु’ उनले अडियो रेकर्डिङ डिभाइससहित थप सबूदप्रमाण पनि अख्तियारलाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस अडियो टेपमा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन सुनिश्चित गर्न सेक्युरिटी प्रेसको लागत एक अर्ब रुपैयाँ बढाउन आग्रह गरेका थिए । मिश्रले आफूसँग बाँस्कोटाले कमिशनको बार्गेनिङ गरेको आरोप लगाएका थिए । यस्तै प्रकृतिका विषयमा अख्तियारले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पाठकले पदमा बहाल रहेकै बेला एक मुद्दा मिलाउने क्रममा ७० लाख बढी रकम लेनदेखको भिडियो रेकर्ड बाहिरिएको थियो ।

प्रतिकृया