• ५ असोज २०८३, सोमबार
  • २ः३१ दिउँसो

कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्यः मुख्यमन्त्री भट्ट

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०२:२०

डोटी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

National Life

प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताउनुभयो । “हामीले सीमानाका सिल गरौँ र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा सङ्घीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौँ सङ्क्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो ।”

एउटै गाउँपालिकामा वर्षेनी एउटै किसिमका योजना बजेट पर्ने गरेको भन्ने पत्रकारको जिज्ञासामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले वर्षेनी एउटै योजनामा बजेट नहालेको र कहीँकतैबाट त्यसरी बजेट परेको भए तत्काल खारेज गरिनेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले जानीजानी एउटै योजनामा वर्षेनी बजेट हालेको छैन, कहीँकतै कुनै गलत तरिकाबाट बजेट गएको भए खारेज हुन्छ ।”
रासस

प्रतिकृया